चाडबाडमा मर्मतसम्म भएनन् ग्रामीण सडक, यात्रा कष्टकर

बकैया दर्पण संवाददाता
१४ कार्तिक २०८०, मंगलवार ०५:५०

इलाम । सिंहदरबारको अधिकार गाउँगाउँमा आउँछ भन्ने आशा बोकेका जनता बर्खाको समयमा लथालिंग बनेका सडक अहिलेसम्म मर्मत नभएपछि निराश बन्न थालेका छन् । बर्खाभरि बिग्रिएका सडक चाडबाडको समयमा समेत स्थानीय तहले मर्मत नगरेपछि यातायात सञ्चालनमा समस्या भएको छ ।

अधिकांश ठाउँमा सडक भताभुंग भएका छन् । कच्ची सडकहरू भत्किएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या छ । गाउँ जाने यातायातका साधनको संख्या थोरै छन् । एउटै गाडीले दुई-तीनपटक यात्रु बोक्नुपर्ने हुन्छ, तर बर्खाको समयमा भत्किएका सडक मर्मत नहुँदा अहिले पनि बाटो खोज्दै गाडी चलाउनुपर्ने समस्या भएको चालकको गुनासो छ ।

जिल्लाको फाकफोकथुम गाउँपालिकाले यसपटक दसैंअघि पालिकाभित्रका कुनै पनि सडक मर्मत गरेन । जसका कारण बाढी र पहिरोबाट भत्किएका सडक मर्मत नभएपछि गाडी सहजले गुड्न नपाउँदा नागरिकलाई यात्रा गर्न कठिन भएको हो । हरेक वर्ष दसैंअघि सडकका खाल्डाखुल्डी पुर्ने गरेको भए पनि यस वर्ष दसैंका बेला सडक मर्मत हुन नसक्दा फाकफोकथुमबासी हिउँद लागिसक्दा पनि कष्टकर यात्रा गर्न बाध्य भइरहेका छन् । गाउँपालिकाका आफ्नै मेसिन छन् । आफ्नै मेसिन प्रयोग गरेर सडकको बीचमा भएका खाल्डाखुल्डी मात्रै पुरिदिने हो भने पनि यातायात सहज हुने देखिन्छ । तर, गाउँपालिका गैरजिम्मेवार बन्दै सडक मर्मतमा चासो नदेखाउँदा चाडबाडको समयमा यात्रु निकै कष्ट भोग्न बाध्य छन् ।

गाउँपालिकाको केन्द्रबाट उत्तरे निस्कने सडक बर्खामा कटिङ गरियो । बर्खाको पानीले खाल्डैखाल्डा भएका कारण त्यस क्षेत्रका बासिन्दा हिँडेर घर पुग्न बाध्य छन् । त्यस्तै, आमचोकबाट लुङ्सुङ्दाङ हुँदै दशमी निस्कने सडक र सोही ठाउँ हुँदै पञ्चमी निस्कने सडक पनि मर्मत नहुँदा आमचोक जाने सवारीसाधन कोल्भोटे हुँदै आमचोक जान बाध्य छन् । बाटो सजिलो नभएका कारण सजिलो बाटो खोज्दै गाडी सञ्चालन हुँदा फाकफोकथुम गाउँपालिका- १ र ३ का बासिन्दा घण्टौंसम्म हिँडेर पञ्चमीसम्म निस्कन बाध्य छन् । बर्खा सकिएर हिउँद लाग्दासमेत गाउँपालिकाले सडक मर्मतमा चासो नदेखाउँदा सडक बिग्रिएकै कारण बजारबाट उपभोग्य सामान गाउँसम्म लैजान र गाउँमा उत्पादित कृषिजन्य सामग्रीहरू बजार पुर्‍याउने उनसमेत समस्या भएको स्थानीय बताए ।

फाकफोकथुम गाउँपालिकाको केन्द्र आमचोकदेखि इलाम सदरमुकामसम्म दैनिक रूपमा सञ्चालन हुने गाडीका चालक लक्षुमन दाहालले गाउँपालिका अध्यक्ष, वडाध्यक्षलाई सडकमा भएका खाल्डाखुल्डी पुरिदिन धेरै आग्रह गरे पनि अहिलेसम्म नटेरेको बताए ।

सडक मर्मत नहुँदा दसैँमा घर जाने यात्रु र दसैं सकिएपछि फर्किने यात्रुलाई गन्तव्यसम्म पु¥याउन समस्या हुने गरेको उनको भनाइ छ ।

‘सबैजना आफ्नै गाउँका दाजुभाइ, दिदी बहिनी दसैं मान्न गाउँ आएका हुन्, फर्किनका लागि फोन त गर्नुहुन्छ कतिपटक त मैले राँकेसम्म मात्रै ल्याइदिएर अर्को गाडीबाट पनि पठाएको छु,’ चालकले भने, ‘राँकेसम्म आउने बाटो सहज हुने हो भने राँकेसम्म ल्याउन पनि अलि सहज हुन्थ्यो तर बाटोकै समस्याले गर्दा गाडी कुदाउन समस्या हुने गरेको छ ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*