साउनमै घट्यो वैदेशिक व्यापार, आयात–निर्यात दुवै गिरावट

बकैया दर्पण संवाददाता
६ भाद्र २०८०, बुधबार १४:२२

मकवानपुर । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो महिनामै वैदेशिक व्यापारमा गिरावट आएको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात भएको छ । यो गत आवको यसै महिनाको तुलनामा १.५६ प्रतिशत कम हो । गत वर्ष साउनमा १ खर्ब ३१ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । यस महिनामा निर्यातमा ८.६५ प्रतिशतको गिरावट आएर १३ अर्ब ५२ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको पहिलो महिनामा १४ अर्ब ८० करोड रुपैयाँको निर्यात भएको थियो ।

आयात र निर्यात दुवैमा आएको गिरावटले समग्र वैदेशिक व्यापार तथा व्यापार घाटा समेत घटेको छ । साउनमा कुल वैदेशिक व्यापारको आकार १ खर्ब ४२ अर्ब ७६ करोड रुपैयाँ कायम भएको छ । यो गत आवको यसै महिनाको तुलनामा २.२८ प्रतिशत कम हो । सो आवको साउनमा १ खर्ब ४६ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो । साउनमा व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँको भएको छ ।

नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९।४८ प्रतिशत र आयातको हिस्सा ९०।५२ प्रतिशत रहेको छ । साउनमा गत आवको तुलनामा निर्यातको हिस्सा खस्किएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*