यस वर्ष साहित्यपोस्टले तीन नवोदित लेखकका तीन कृतिलाई ५०–५० हजार रुपियाँको पुरस्कारले सम्मान गर्ने

बकैया दर्पण संवाददाता
२४ चैत्र २०७९, शुक्रबार ०९:२६

मकवानपुर ।  यस वर्ष साहित्यपोस्टले तीन नवोदित लेखकका तीन कृतिलाई ५०–५० हजार रुपियाँको पुरस्कारले सम्मान गर्ने भएको छ । काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका नवोदित लेखकलाई यो पुरस्कार तथा सम्मान प्रदान गरिने साहित्यपोस्टको प्रधानसम्पादक अश्विनी कोइरालाले बताउनुभएको छ ।

साहित्यपोस्ट सुरु भएको पहिलो वार्षिक उत्सवमा एक जना नवोदित लेखकलाई ५० हजार नगद राशिसहित ताम्रपत्रले लेखक केदार वाशिष्ठलाई सम्मान गरिएको थियो । गएको वर्ष दुई नवोदित लेखक भवानी खतिवडा र शान्ति प्रियवन्दनालाई ५०–५० हजार राशिको पुरस्कारले सम्मान गरिएको थियो । यो वर्ष (तेस्रो वर्ष) देखि तीन विधाका उत्कृष्ट तीन नवोदित लेखकलाई सम्मान गर्न लागिएको हो ।

पुरस्कारका लागि ०७९ सालमा प्रकाशित भएका पहिलो कृति पठाउन साहित्यपोस्टले लेखक तथा प्रकाशकहरुमा आह्वान गरेको छ । उक्त कृतिहरु ०८० साल वैशाख १५ गतेभित्र साहित्यपोस्टको कार्यालयमा बुझाउन व्यवस्थापन विभागले नवोदित लेखक तथा प्रकाशकहरुलाई अनुरोध गरेको हो ।

साहित्यपोस्टले सम्प्रेषण गरेको सूचनाअनुसार यो वर्षदेखि काव्यका लागि ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’, आख्यानका लागि ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ तथा गैरआख्यानका लागि ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ नामका तीन सम्मान प्रदान गरिनेछ । ०७९ सालभित्र आफ्नो पहिलो पुस्तक लेखेर नेपाली साहित्यमा औपचारिक पाइला चालेका लेखक–कवि यी पुरस्कारहरुको हकदार बन्नेछन् ।

व्यवस्थापन विभागका अनुसार वर्षभरि प्रकाशनमा आएका काव्य (कविता, गजल, मुक्तक, हाइकु, बाछिटा आदि) सङ्ग्रहबाट एकजना कवि; आख्यान (कथा, उपन्यास, नाटक, लघुकथा आदि) सङ्ग्रहबाट एकजना आख्यानकार तथा गैरआख्यान (निबन्ध, नियात्रा, नेपाली भाषा साहित्यसम्बन्धी अध्ययन–अनुसन्धानात्मक कृतिहरु आदि) बाट एकजना गरी तीन जना नवोदित स्रष्टालाई ५०–५० हजार राशिको नगद पुरस्कारसहित सम्मान गर्न लागिएको हो ।

०७७ सालदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलो वर्ष ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का नाममा केदार वाशिष्ठकृत ‘नेपाल विद्या’लाई प्रदान गरिएको थियो । दोस्रो वर्षमा ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ गरी दुई विधामा प्रदान गरिएको पुरस्कार क्रमश: भवानी खतिवडाकृत ‘घामभन्दा पहिले’ र शान्ति प्रियवन्दनाकृत ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’लाई प्रदान गरिएको थियो । ०७९ सालका लागि यो पुरस्कार काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका तीन नवोदित लेखकलाई पदान गरिने साहित्यपोस्ट व्यवस्थापन विभागले जनाएको छ ।

‘पुराना लेखक–कविलाई सम्मान गर्न धेरै पुरस्कार र सम्मानहरु छन्, तर नवोदित लेखकका रचनालाई स्थान दिने तथा उनीहरुलाई सम्मान गर्ने संस्था र सञ्चारमाध्यमहरु नभएको अवस्थामा साहित्यपोस्टले यो अभियान सुरु गरेको हो ।’, साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला भन्छन्, ‘नयाँ लेखकलाई भाषा र साहित्यको क्षेत्रमा लाग्न प्रेरणा दिने उदेश्यले तीनै विधाका नवोदित लेखकलाई १ लाख ५० हजार नगदका साथमा ताम्रपत्रसहित सार्वजनिक सम्मान गरिनेछ ।’

०७९ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रकाशनमा आएका कवि–लेखकको पहिलो, मौलिक र एकल कृतिलाई यो सम्मानमा समावेश गरिनेछ । पुरस्कारका लागि पुस्तक दर्ता शूल्क लाग्ने छैन, तर लेखक वा प्रकाशकले पहिलो र मौलिक कृति प्रकाशन भएको सही जानकारीसहित तीन प्रति कृति सहित्यपोस्टको कार्यलयमा वैशाख १५ गतेभित्र उपलब्ध गराउनु पर्नेछ ।

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् । साहित्यपोस्टको अभियानका बारेमा कवि भौकाजीले भन्नुभयो, ‘पुराना स्रष्टालाई खोजी–खोजी सम्मान गर्ने परम्परा भए पनि नयाँ कविलाई सम्मान गर्नुपर्छ भन्ने साहित्यपोस्टको सोच मलाई नवीन लाग्यो । त्यसैले यो अभियानमा गत वर्षबाट जोडिएको हुँ । पुरस्कारलाई निरन्तरता दिँदै यसलाई बृहत् बनाउँदै लग्ने कुरामा सकरात्मक छु ।’

‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले गर्नुभएको छ । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो ।

यसअघि ५० हजार नगद राशिको ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’लाई प्रयोजन गर्दै आउनुभएका पन्तले यस वर्षदेखि पुरस्कार राशिलाई एक लाख पुर्याउने सार्वजनिक घोषणा गर्नुभएको थियो । त्यसैअनुसार एक लाख पुरस्कार राशिबाट आख्यान र गैरआख्यान दुई विधामा पुरस्कार दिने निर्णय भएको प्रधानसम्पादक कोइरालाले बताउनुभएको छ ।

‘साहित्यसँगको मेरो नाता पारिजातसँगको सङ्गतबाट कायम भयो । उहाँकै प्रेरणाले योगमायाका विषयमा लामो समय अध्ययन गरेँ ।’, उत्तमप्रसाद पन्तले भन्नुभयो, ‘५० हजार पुरस्कार राशिलाई बढाएर एक लाख बनाउने घोषणा गत वर्षको पुरस्कार वितरण समारोहमा गरेको थिएँ । साहित्यपोस्टका प्रधानसम्पादकसँगको सल्लाहमा यस वर्षबाट आख्यान र गैरआख्यान गरी दुई विधाका नवोदित लेखकलाई १ लाख राशि नगदको सम्मान अर्पण गर्ने भएका छौं । यो पुरस्कारले नवोदित लेखकहरुलाई थोरैमात्र प्रोत्साहन गर्न सक्यो भने आफूलाई भाग्यमानी ठान्नेछु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*