बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईंको नयाँ कार्यक्रमको सुरुवात

बकैया दर्पण संवाददाता
१९ पुष २०७९, मंगलवार ११:२६

मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईंले आफ्नो कार्यकालमा प्रदेशको कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको रुपान्तरणमा महत्वपूर्ण काम भएको दाबी गरेका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री हुमागाईले आफ्नो कार्यकालको १३ महिनाको अवधिमा कतिपय पुराना कार्यक्रमलाई निरन्तरता दिँदै सम्पन्न गर्नुका साथै नयाँ कार्यक्रम सुरुवात गरिएको बताएका हुन् ।

पत्रकार सम्मेलनमा आफ्नो कार्यकालमा भएका कामहरुको प्रतिवेदन सार्वजनिक गर्दै आफूले मन्त्री भएर आएपछि ५५ बुँदे मार्गचित्र प्रस्तुत गर्दै सोहीअनुसार कामहरु गरिएको बताए । कृषि क्षेत्रमा प्रवाह भइरहेको अनुदान कार्यलाई व्यवस्थित बनाउन बीउपुँजी कोष सम्बन्धी कार्यको सुरुवात गरेको बताउँदै चालु आवमा प्रदेश सरकारले साना तथा ठूला किसानलाई गरी करिब ५५ करोड बीउपुँजी उपलब्ध गराउन लागेको बताए ।

अध्यादेशमार्फत कृषि विकास ऐन बनाएर मन्त्रालयले किसान परिचयपत्र वितरण, कृषि बाली वस्तुको न्यूनतम समर्थन मूल्य तोक्ने जस्ता कार्यलाई प्रक्रियामा लगेको र अघिल्लो सरकारले सुरुवात गरेको दुग्ध पाउडर प्लान्ट स्थापनाको कामले हुमागाईको कार्यकालमा निरन्तरता पाउँदै करिब ९५ प्रतिशत सम्पन्न भएको मन्त्री हुमागाईले बताए ।

प्रदेशका ३० स्थानमा ‘एक वडा, एक पशु स्वास्थ्य क्लिनिक’ स्थापनाको लागि बोलपत्र आह्वान गरिएको, माटो परीक्षण कार्यलाई तिव्रता दिनुका साथै बीउमा आत्मनिर्भरता उन्मुख कार्यक्रममा पनि मन्त्रालयले ध्यान दिएको उनले बताए ।

फलफूल तथा तरकारी भण्डार क्षमताको शीत भण्डारहरु पनि निर्माणको अन्तिम चरणमा रहनुका साथै प्रदेशका ८ जिल्लाका विभिन्न १० स्थानमा निर्माणाधीन शीत भण्डार निर्माणको करिब ८० प्रतिशत काम सकिएको जनाइएको छ ।

चितवनमा आधुनिक भेटेरीनरी अस्पताल निर्माणको प्रक्रिया सुरु गरिएको बताउँदै भेटेरीनरी एम्बुलेन्स खरिदको प्रक्रियामा रहेको मन्त्री हुमागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*