तोकिए बमोजिमको राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

बकैया दर्पण संवाददाता
१८ पुष २०७९, सोमबार ०९:३०

मकवानपुर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व सङ्कलनको वर्तमान अवस्था एवम् तोकिए बमोजिमको राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सबै कार्यालयका प्रमुख एवम् कर्मचारीहरूलाई राजस्व संहलनकोृ लक्ष्य हासिल गर्न निर्देशन दिएका हुन् ।

अर्थमन्त्री पौडेलले राजस्वको लक्ष्य र सङ्कलनको अन्तर ठुलो रहेको हुँदा लक्ष्य बमोजिमको राजस्व सङ्कलन गर्न राजस्व प्रशासनमा कार्यरत सबैको साझा प्रतिबद्धताका लागि बैठकको आयोजना गरिएको बताउँदै सबैलाई आ–आफ्नो परिभाषित जिम्मेवारी पुरा गर्न निर्देशन दिए ।

साथै पौडेलले दैनिक रूपमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार आउनुपर्ने र हालसम्मको राजस्वको न्यूनता पुरा गरी लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सोही बमोजिमको कार्ययोजना तयार गरी कार्य सम्पादन गर्न निर्देशन दिए ।

उनले राजस्व परिचालनका लागि विभाग तथा कार्यालयहरूलाई मन्त्रालयबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण हुने उल्लेख गर्दै कर कानुनको परिपालना गराउँदा गल्ती गर्नेलाई छुट नदिन तथा निर्दोषलाई त्रसित नपार्न समेत निर्देशन दिए । उनले स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न र व्यापार सहजीकरण गर्दै भन्सार जाँचपासलाई वास्तविक र यथार्थपरक बनाउन निर्देशन दिए ।

त्यस्तै, कार्यालयहरुका लागि तोकिएको कार्यगत सूचकहरू प्राप्तिमा केन्द्रित हुन र करदातालाई कर तिर्ने सहज वातावरण सिर्जना गरी कर परिपालना बढाउन निर्देशन दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*