बकैया दर्पणमा आजका महत्वपूर्ण १० खबरहरु

बकैया दर्पण संवाददाता
१७ पुष २०७९, आईतवार १०:५४

१. पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने

मकवानपुर । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले विमानस्थलको उद्घाटन गर्नुहुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ ।

उद्घाटन कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि पोखरा पुग्नुहुनेछ । पहिलो दिन आज काठमाडौँबाट यात्रुसहित पुगेको विमानका यात्रुलाई पोखरामा स्वागत गर्ने विमानस्थल कार्यालयको तयारी छ । आज दिनभरि नै विशेष कार्यक्रम गर्ने पोखरा महानगरपालिकाले जनाएको छ । उद्घाटन भव्य बनाउन पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका महाशाखा, ३३ वडा कार्यालय, मातहतका सबै विद्यालय तथा शैक्षिक संस्थामा बिदा दिएको छ ।

२. नयाँ विमानस्थल चल्ने भएपछि पोखराबासी उत्साहित

मकवानपुर । चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा तयार भएको पोखरा अन्तरष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपालको अन्तराष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुग्नेछ । विमानस्थललाई आर्थिक समृद्धिसँग जोड्ने तयारी भइरहँदा पोखराबासी उत्साहित छन् ।

विमानस्थल चलेपछिको सकारात्मक प्रभाव सम्झेर खुसी लागेको पोखरा महानगरपालिका १० रामबजारका दीलमाया गुरुङको भनाइ छ । करिब ५० वर्षदेखिको सपना विपनामा परिणत हुन लाग्दा जनप्रतिनिधिमा पनि उत्साह थपिएको पोखरा उपमहानगरपालिका वडा ७ का जनप्रतिनिधि अर्जुन थापाले बताउनुभो । २०३२ सालमा विमानस्थलका लागि जमिन अधिग्रहण गरिए पनि शिलान्यास हुन ४० वर्ष लाग्यो भने २०७४ देखि निर्माण थालिएको थियो । आन्तरिक उडान आजबाट सुरु हुन लागे पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न बाच्छेबुडुवाबाट फोहोर व्यवस्थापन केन्द्र सार्नुपर्ने र रिठ्ठेपानी डाँडा काट्नुपर्ने काम पूर्ण रूपमा सकिएको छैन । पोखरा महानगरपालिका उपप्रमुख मञ्जु गुरुङले फोहोर व्यवस्थापनको तत्कालीन र दीर्घकालीन विकल्पका बारेमा छलफल गरिरहेको जानकारी दिनुभयो । हाल ल्याण्डफिल साइट पुर्ने काम करिब सकिए पनि ४० मिटर काट्नुपर्ने रिठेपानीडाँडा करिब २० मिटर काटी सकिएको छ ।

साजसज्जाको काम पनि करिब सकिएको विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीको भनाइ छ । जानकारहरूका अनुसार नेपाल आउने ५० प्रतिशत पर्यटक पोखरा पुग्छन् । करिब २ महिनामा अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पर्यटन क्षेत्रको विकासमा विमानस्थल कोशेढुङ्गा सावित हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो । विमानस्थल प्रभावकारी रूपमा चल्यो भने विभन्न एयरलाइन्स कम्पनीहरूको आगमनसँगै अन्तर्राष्ट्रिय सहरसँग पोखराको अब सीधा सम्पर्क हुनेछ । २५ सय मिटर लामो यो विमानस्थलबाट आन्तरिक उडान सुरु हुँदै गर्दा यसअघि सञ्चालनमा आएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलले अपेक्षाकृत व्यापारा नगरेको खबर सुनेका पोखरेलीहरू त्यस्तो अवस्था आउँछ कि भन्ने चिन्तामा पनि छन् ।

३. प्रदेश १ सभाको पहिलो बैठक आज

मकवानपुर । प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक आज बस्दैछ । गत मङ्सिर ४ मा भएको निर्वाचनबाट चयन भएका सांसदहरूले शपथग्रहण गरेसँगै पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद नेपाली काँग्रेसका ७९ वर्षका गयानन्द मण्डल गनगाईले गर्नुहुनेछ ।

आजको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अङ्गीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुने छ ।

४. सरकारमा सहभागिताको विषयमा नेकपा एसले आज निर्णय गर्ने ।।

मकवानपुर । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागिताको विषयमा आज निर्णय गर्ने भएको छ । हिजोबाट सुरु भएको स्थायी कमिटीको बैठकमा सरकारमा सहभागी हुने नहुने विषयमा छलफल भए पनि आजसम्ममा औपचारिक निर्णय गर्ने सहमति भएको छ ।

त्यसको लागि आज फेरि बैठक बस्नेछ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा हिजो बसेको स्थायी समिति बैठकमा केही नेताले धारणा राख्न बाँकी रहेकाले आज पनि बैठक बस्न लागेको नेकपा एसका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजो १८ जना नेताले आफ्नो धारणा राखेका थिए । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको थियो । काँग्रेसको नेतृत्वमा रहेको गठबन्धन भत्किएपछि नेकपा एमाले र नकपा माओवादी केन्द्रसहितका दलहरूको नयाँ गठबन्धन निर्माण भएको छ । सत्ता गठबन्धनले एकिकृत समाजवादीलाइ ३ मन्त्रालय दिने प्रस्ताव गरेको छ । राष्ट्रपति समेत प्रस्ताव गरेको चर्चा भइरहदा खतिवडाले भने नेकपा एस तत्काल सरकारमा नजाने बताउनुभएको छ ।

५. विधानको व्यवस्था बमोजिम दलको नेता चयन प्रकिया सम्पन्न गरेको जसपाको दाबी ।।

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको अन्तरिम विधानको व्यवस्था बमोजिम दलको नेता चयन प्रकिया सम्पन्न गरेको स्पष्ट पारेको छ । दलको नेता चयनको विषयलाई लिएर सामाजिक सञ्जालमा एकअर्कामाथिको आरोप–प्रत्यारोपप्रति ध्यानाकर्षण भएको भन्दै जसपाले विधानको व्यवस्था बमोजिम दलको नेता चयन गरिएको बताएको हो ।

जसपाका प्रकाशन तथा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले विज्ञप्ति जारी गर्दै आफ्ना विचार, विमति, गुनासा र असहमतिहरु संयमित र मर्यादित ढङ्गले आफू सम्बद्ध पार्टी फोरमभित्र राख्न आग्रह गर्नुभएको छ ।

६. अङ्ग्रेजी नयाँ वर्ष सुरु ।।

मकवानपुर । अङ्ग्रेजी नयाँ वर्ष सुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ लाई बिदाइ गर्दै सन् २०२३ सुरु भएको हो । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा नेपालसहित विश्वभरका मानिसले एकआपसमा शुभकामना आदान गरिरहेका छन् ।

आज नेपाली टोपी दिवस मनाइँदै ।।

मकवानपुर । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन आज नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवद्र्धन गर्नका लागि भन्दै केही वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरूले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बङ्लादेशको ढाका, कश्मीर, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।

७. उपदान सुविधा लिन छुटेका शिक्षकले निवेदन दिन सक्ने

मकवानपुर । विगतमा सरकारले दिएको उपदान (गोल्डेन हेन्डसेक) सुविधा लिन छुटेका विद्यालयका शिक्षकलाई सरकारले फेरि अवसर दिएको छ । यस्तो सुविधा लिन नपाएकालाई सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा निवेदन दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनुरोध गरेको छ ।

सरकारले २०७३ साल असार १५ गतेसम्म अस्थायी रूपमा कार्यरत शिक्षकलाई यस्तो सुविधा दिएको थियो । सोहीबमोजिम मन्त्रालयले २०७५ चैत ११ गतेको सचिवस्तरीय निर्णय गरेर पहिलो पटक सूचना प्रकाशित गरेको थियो । सो सूचनाअनुसार उक्त सेवाबाट वञ्चित भएको भन्दै केहीले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा निवेदन दिएका केन्द्रले जनाएको छ । शिक्षक सम्बद्ध सङ्घसङ्गठनले पनि छुटेकाहरूलाई सोहीबमोजिम सुविधा दिन मन्त्रालय तथा केन्द्रलाई अनुरोध गरेको थियो । त्यसका लागि केन्द्रले सूचना प्रकाशन गरेर सो सुविधा नपाएका अस्थायी शिक्षकलाई निवेदन पेस गर्न अनुरोध गरेको छ तर कति दिनभित्रमा निवेदन पेस गर्ने भन्ने विषयमा भने केन्द्रले केही खुलाएको छैन ।

यसअघि गत असोज १२ गते पनि मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर ३० दिनभित्र राष्ट्रिय किताबखाना (शिक्षक)मा निवेदन पेस गर्न भनेको थियो । निवेदनका साथ सम्बन्धित शिक्षकले सम्बन्धित तहको शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्बन्धित तहको नियुक्तिपत्र वा समर्थनपत्रलगायतका कागजपत्र पेस गर्न अनुरोध गरेको छ ।

८. ‘राष्ट्रपति उत्कृष्ट किसान’ पुरस्कारबाट नुवाकोटका तीन किसान पुरस्कृत ।।

मकवानपुर । ‘राष्ट्रपति उत्कृष्ट किसान’ पुरस्कारबाट नुवाकोटका ३ जना किसान पुरस्कृत भएका छन् । कृषि ज्ञान केन्द्र नुवाकोटले नुवाकोटका ३ र रसुवाका ३ किसानलाई पुरस्कृत गर्दै कृषि क्षेत्रमा पु¥याएको योगदान स्वरुप कदर तथा नगद रुपैयाँसहित सम्मान गरिएको हो ।

नगद पुरस्कारसहित सम्मानित हुने किसानमा नुवाकोटको शिवपुरी गाउपलिका ८ थानापतिका रामप्रसाद पुडासैनी, म्यागङ ४ का सुरेन्द्र तामाङ र विदुर नगरपालिका १३ कल्याणपुरका दीपक खड्का रहनुभएको छ । यस्तै, रसुवाबाट सम्मानित हुने किसानहरूमा गोसाइकुण्ड गाउँपालिका ५ का काल्साङ तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ६ का प्रमोदकुमार तितुङ र नौकुण्ड ६ का पासाङ लामा तितुङ रहनु भएको छ ।

विदेशका खबर

९. युक्रेनको राजधानी किभमा दर्जनौं मिसाइल प्रहार ।।

एजेन्सी । नयाँ वर्षको पूर्वसन्ध्यामा रुसले पुनः युक्रेनको राजधानी किभमा दर्जनौं मिसाइल प्रहार गरेको छ । युक्रेनी अधिकारीहरूका अुनसार आक्रमणमा एक जनाको मृत्यु भएको छ । पछिल्लो आक्रमण रुसको ठूलो हवाइ हमलाको दुई दिनपछि भएको हो ।

दुई दिनअघि भएको हवाइ हमलालाई यो युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमण भनिएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनीहरूलाई नयाँ वर्ष मनाउनबाट रोक्न रुसले थप आक्रमण गर्नसक्ने चेतावनी दिनुभएको छ ।

खेल खबर

१०. नेपाल टी–२० क्रिकेटमा आज जनकपुर र काठमाडौँ अनि लुम्बिनी तथा विराटनगर खेल्ने ।।

मकवानपुर । नेपाल टी–२० क्रिकेटमा आज जनकपुर रोयल्स र काठमाडौंँ नाइटस् तथा लुम्बिनी अल स्टार र विराटनगर सुपर किङ्स खेल्ने छन् । बिहान ९ बजे जनकपुर र काठमाडाँै खेल्दा दिउँसो १ बजे लुम्बिनी र विराटनगर खेल्नेछन् । दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

इटहरीमा पुस अन्तिमबाट सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता विजेताले ५ लाख पाउने भएका छन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । पुस २९ बाट सुरु हुने यस प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय टोली गरी ८ टोलीको सहभागीता रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*