बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता छान्न आज मतदान हुँदै

बानियाँ भर्सेज लामा कसको सम्भावना कति ?
बकैया दर्पण संवाददाता
१३ पुष २०७९, बुधबार ०९:३८

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको लागि आज निर्वाचन हुँदैछ । संसदीय दलको नेताको लागि हेटौंडा स्थित संसदीय दलको कार्यालयमा विहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु गरिने कार्यतालिका सार्वजनिक भइसकेको छ ।

कांग्रेस संसदीय दलको नेताको निर्वाचनको लागि कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा रहेको निर्वाचन समितिले मंगलबारबाट चुनावी प्रक्रिया थालेको थियो । समितिले मंगलबार मतदाता नामावली प्रकाशन गरेको थियो भने आज उम्मेदवारी तथा मतदानको कार्यक्रम रहने निर्वचन समितिका सदस्य एवम् कांग्रेस प्रदेश समिकिा महामन्त्री राजु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बिहान ८ बजेबाट उम्मेदवारी दर्ता खुल्ला हुनेछ भने दिउँसो २ बजेदेखि मतदान कार्यक्रम संचालन हुनेछ । मतदानका लागि एक घण्टाको समय निर्धारण गरिएको छ । जस अनुसार दिउँसो ३ बजे मतदानको कार्यक्रम सम्पन्न हुनेछ ।

केन्द्रीय सत्ता गठबन्धन अनुसार प्रदेश सरकार निर्माण भएको खण्डमा कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहने निश्चित छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसले आन्तरिक निर्वाचन नै गरेर दलको नेता छनोट गर्न लागेको हो । ३७ सांसद रहेको कांग्रेसको दलको नेताका लागि मकवानपुर क्षेत्र नम्बर–२ को (ख)बाट निर्वाचित सांसद इन्द्रबहादुर बानियाँ र नुवाकोट क्षेत्र नम्बर–२ को –ख)बाट निर्वाचित सांसद बहादुर सिंह लामाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

दुबै नेता कांग्रेस संस्थापन समूहका हुन् । बानियाँ कांग्रेस बागमती प्रदेश सभापति हुन् भने लामा कांग्रेस केन्द्रीय सदस्य हुन् । दुबै जना प्रदेशको नेतृत्व गर्न आफ्नो आवश्यकता रहेको बताउँदै आएका छन् । दुबै जना आफ्नो पक्षमा माहौल सिर्जना गर्न छुट्टा छुट्टै भेटघाट र बैठकहरु आयोजना गरिरहेका छन् ।

बानियाँ भर्सेज लामा कसको कति सम्भावना ?

संसदीय दलको नेता बन्ने कसरतमा रहेका लामा मुख्यमन्त्री बन्नकै लागि प्रतिनिधिसभाबाट प्रदेशमा झरेका थिए । निर्वाचनको टिकट वितरणको समयमा लामा प्रतिनिधिसभा सदस्य पदको लागि दावी गरिरहेका थिए । नुवाकोट २ बाट प्रतिनिधिसभा सदस्य पदमा दावी गर्दै आएका उनलाई कांगेसको आन्तरिक विवाद समाधान गर्न मुख्यमन्त्रीको अफरसहित प्रदेशसभा सदस्य पदमा चुनावमा प्रतिस्पर्धा गराइएको थियो ।

यता प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलको नेता भइसकेका बानियाँ सोही कार्यकालमा मुख्यमन्त्रीको दावेदार थिए । मुख्यमन्त्री बन्ने पटक पटकको उनको प्रयास असफल भएको थियो ।

केही समय अघिमात्र कांग्रेस मााअ‍ेवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन नेतृत्वको सरकार गठनका लागि उनी मुख्य दावेदार थिए । सो समयमा पहिलो चरणमा एकीकृत समाजवादीका पाण्डेलाई सघाउने र दोस्रो चरणमा कांग्रेसबाट बानियाँ बन्ने लिखित सहमति समेत भएको थियो । तर, सहमति कार्यान्वयन नहुँदा उनी मुख्यमन्त्री बन्न सकेनन् ।

निवर्तमान मुख्यमन्त्री पाण्डेसँग प्रदेशको नेतृत्व आधाआधा कार्यकाल गर्ने लिखित सहमति भए पनि बानियाँलाई अन्तिम समयमा मुख्यमन्त्री बन्नबाट रोकिएको थियो । जसका कारण यस पटक आफ्नो दावेदारी स्वाभाविक भएको बताउँदै आएका थिए । गठबन्धन भत्किएकाले कांग्रेसको सरकार बन्ने सम्भावना न्युन छ ।

संसदीय दलको नेताका लागि सांसदहरु मंगलबार नै हेटौंडा आउनेक्रम बढेको थियो । दलका नेता चुन्न हेटौंडा आइपुगेका सांसदहरुलाई नेपाली कांग्रेस मकवानपुरले स्वागत एवम् सम्मान व्यक्त गर्न कार्यक्रम आयोजना गरेको थियो ।

बानियाँको निर्देशनमा भएको उक्त कार्यक्रमा २६ जना सांसदरु उपस्थित भएका थिए भने मंगलबार नै बानियाँले हेटौंडास्थित एक होटलमा रात्रिभोजसहित स्वागत गरेका थिए । उक्त कार्यक्रममा करिव ३० जना सांसदहरु उपस्थित भएको कांग्रेस बागमती प्रदेशका एक सदस्यले बताए ।

उनका अनुसार कार्यक्रमको अन्तिमसम्म २३ जना सांसदको उपस्थिती रहेको थियो । केही सांसदहरु मतदानको लागि बुधबार मात्र हेटौंडा आइपुग्ने भएकाले निर्वाचनको कार्यक्रममा बानियाँको पक्षमा सांसदहरुको संख्या थप हुने उनले बताए । बानियाँलाई कांग्रेस संस्थापन इतर समूहको समेत समर्थन रहेको छ भने प्रकाशमान सिंह समूहको अधिकांश सदस्यहरु बानियाँको पक्षमा खेलेका छन् ।

यता केन्द्रीय सदस्य लामाको पक्षमा रहेका सांसदहरु भने मंगलबार हेटौंडा आएनन् । उनीहरु लामाको आतिथ्यतामा चितवनस्थित सौराहामा बसेका छन् । लामालाई सघाउन कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’सहितको टोली सौराहामा रहेको सो समूहका एक नेताले बताए । लामाको पक्षमा बहुमत सांसदहरु रहेको उनको दावी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*