नयाँ प्रधानमन्त्रीको शपथ भोलि हुने

बकैया दर्पण संवाददाता
१० पुष २०७९, आईतवार १९:२१

मकवानपुर । नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण भोलि (सोमबार) हुने भएको छ । आर्इतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दावी पेश गरेसँगै सोमबार शपथ ग्रहणको तयारी भएको शीतलनिवास स्रोतले जनाएको छ ।

अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दावी पेश गरेका हुन् ।

राष्ट्रपति समक्ष पेश भएको निवेदनमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यायदव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठको हस्ताक्षर रहेको छ ।

संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् । त्यस्तै, प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साह शीतलनिवासमा पुगेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*