प्रधानमन्त्रीका लागि देउवा र प्रचण्डबीच प्रतिस्पर्धा

बकैया दर्पण संवाददाता
७ पुष २०७९, बिहीबार ०९:४१

मकवानपुर । राष्ट्रपतिबाट सरकार गठन आह्वान भएको तेस्रो दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भए। उनले गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै छैटौंपटक प्रधानमन्त्री बन्ने बाटो खुला बनाए । तर, उनका लागि तगारो बनेका छन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘’ ।

जसरी पनि पहिलो लटमा प्रधानमन्त्री बन्ने चाहना राखेका प्रचण्डले देउवालाई दबाब बढाउँदै लगेका छन् । बुधबार अर्थमन्त्रीसमेत रहेका पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रचण्डका दूत बनेर बालुवाटार पुगेका थिए। यही गठबन्धनलाई जोगाउँदै नयाँ सरकार बनाउनुपर्ने अर्थमन्त्री शर्माले प्रधानमन्त्री देउवालाई सुझाएका थिए । तर, त्यसका लागि प्रचण्डलाई पहिले सरकारको नेतृत्व दिनुपर्ने उनको आग्रह थियो ।

‘आलोपालो गर्ने विषयमा तपाईं र हाम्रोबीच राम्रो अन्डरस्ट्यानिङ छ । सरकारको नेतृत्व गर्ने पालो अब माओवादीलाई दिनुपर्छ । त्यसपछि फेरि पालो त तपाईंकै हो’ अर्थमन्त्री शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

प्रचण्डले देउवालाई गलाउनकै निम्ति एमाले कार्डु खेलेको स्रोतको दाबी छ। माओवादी अहिले पनि यही गठबन्धनलाई निरन्तरता दिन चाहेको स्रोतको भनाइ छ ।

‘माओवादी यही गठबन्धनलाई निरन्तरता दिन चाहन्छ। तर, त्यससँगै पहिले सरकारको नेतृत्व पनि दाबी गर्छ,’ माओवादीका एक नेताले भने। देउवाले मनोमानी गरे गठबन्धनबाट बाहिरिने र एमालेसँगको सम्बादलाई अगाडि बढाउने ती नेताको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*