देउखुरीबाट लुम्बिनीकाे राजधानी काम सुरु

बकैया दर्पण संवाददाता
२८ मंसिर २०७९, बुधबार १७:३२

मकवानपुर । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाकाे देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाे उद्घाटन भएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनले आज बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको झण्डोत्तोलन गर्नुभएको हो ।

२०७७ असोज २० गते प्रदेश सभाको दुई तिहाइ बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका तोक्ने निर्णय गरेको थियो । त्याे निर्णय कार्यान्वयन गर्दै वर्तमान सरकारले मुकाम बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राजधानीमा स्थापना गरेको छ । राजधानीमा रहेको कार्यालयबाट कामकाजसमेत सुरु भएको छ । १३ मन्त्रालयमध्ये राजधानी परिसरभित्र छ वटा मन्त्रालय, मुख्यमन्त्री निवास, प्रमुख सचिवको निवाससमेत स्थापना गरिएको छ । अबको केही हप्ताभित्र महत्त्वपूर्ण मन्त्रालय, निर्देशनालय र विभाग राजधानी क्षेत्रमा स्थापना हुने प्रदेश सरकारले जनाएको छ ।

मुख्यमन्त्री कार्यालयको उद्घाटन गर्दैै प्रदेश प्रमुखले राजधानीले विकासमा पछाडि परेको देउखुरीलाई मात्रै नभइ समग्र प्रदेशलाई समृद्ध बनाउन मद्दत गर्ने बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सङ्घीयता कार्यान्वयनमा लुम्बिनी प्रदेशले समग्र देशकै नेतृत्व गरेको बताउनुभयो । राजधानी कार्यान्वयनसँगै प्रदेशको निसान छापमा राजधानीको नाम राप्ती उपत्यका देउखुरी लेखिने उहाँले जानकारी दिनुभयाे ।

यही मङ्सिर १९ गते बुटवलबाट मुख्यमन्त्री कार्यालय राजधानी क्षेत्रमा सारिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*