दल र उम्मेदवारका पौने ४ करोड धरौटी रकम जफत

देशभर ४ हजार २८५ जना उम्मेदवारकाे धरौटी रकम जफत
बकैया दर्पण संवाददाता
२८ मंसिर २०७९, बुधबार १७:२९

मकवानपुर । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दल र उम्मेदवारका पौने ४ करोडभन्दा बढी धरौटी रकम जफत भएको छ।

निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारले राखेको धरौटी र समानुपातिक तर्फ भाग लिन दलहरूले राखेको धरौटी रकम जफत भएको हो।

जफत भएको कूल धरौटी रकम जोड्दा ३ करोड ७८ लाख ५५ हजार रूपैयाँ हुन आउँछ ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ कूल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी रकम जफत हुने कानुनी व्यवस्था छ। समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था छ। आम निर्वाचन-२०७९ मा देशभर ४ हजार २८५ जना उम्मेदवारकाे धरौटी रकम जफत भएको छ। निर्वाचन आयोगले बुधबार गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपालियाले उक्त कुरा बताउनुभयाे ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ ।

जसअनुसार प्रतिनिधि सभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी जम्मा १ हजार ९६१ जना तथा प्रदेश सभातर्फ पुरुष २ हजार ८६, महिला २३७ र अन्य १ गरी जम्मा २ हजार ३२४ जना गरी जम्मा ४ हजार २८५ जना (७६ दशमलव शून्य ४ प्रतिशत) उम्मेदवारहरूको धरौटी रकम जफत भएको आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*