भ्रष्टाचार शून्य नीति लिएर अघि बढ्न पालिकालाई प्रधानमन्त्री देउवाकाे आग्रह

बकैया दर्पण संवाददाता
२५ मंसिर २०७९, आईतवार १४:५१

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गर्नुभएको छ ।

आज आइतवार काठमाण्डाैमा आयोजित गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्ताे बताउनुभएको हो । उहाँले सङ्घ, प्रदेश र पालिकाकाे चुनाव निष्पक्ष ढङ्गले सम्पन्न भएको उल्लेख गर्दै अब नागरिकमा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । प्रधानमन्त्री देउवाले सङ्घीयताको सफल कार्यान्वयनका लागि पालिकाकाे सबलीकरण हुने गरी कानुन निर्माण गर्ने काममा ढिलाइ गर्न नहुने बताउनुभयाे ।

जनसेवाको कामलाई प्रभावकारीरूपमा सम्पन्न गर्न सार्वजनिक सुनुवाइ, जनभेला, जनसहभागिता, घरदैलो सेवा, हेलाे सरकार लगायतका सबै सार्वजनिक सेवालाई सबै तहमा लागू गर्नुपर्नेमा पनि प्रधानमन्त्री देउवाको जोड थियो । उहाँले भ्रष्टाचार शून्य नीति लिएर अघि बढ्न पनि पालिकाका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले देशमा विद्यमान गरिबी, बेरोजगारी, सामाजिक अन्धविश्वास तथा कुरीतिको अन्त्यका लागि आर्थिक विकासका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न सक्ने गरि पालिकाकाे क्षमता अभिवृद्धि गर्न सबै पक्ष लाग्नुपर्ने पनि बताउनुभयो । उहाँले दिगो विकास लक्ष्य अनुरूप अघि बढ्ने गरि योजना तर्जुमा गर्न पालिकाले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले पालिकाकाे प्रतिष्ठालाई अघि बढाउने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने काम गरिरहेको भन्दै गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाललाई धन्यवाद पनि व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*