बागमती प्रदेशबाट ५ दलका २९ जना बने समानुपातिक सांसद

बकैया दर्पण संवाददाता
२५ मंसिर २०७९, आईतवार १३:५२

मकवानपुर । प्रतिनिधिसभाको आगामी कार्यकालका लागि बागमती प्रदेशलाई प्रतिनिधित्व गर्दै ५ वटा दलहरूबाट समानुपातिक तर्फबाट २९ जना सांसद चुनिने भएका छन् । शनिबार देशका मुख्य ३ ठुला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको सांसदहरूको सिफारिस सूचीमा बागमती प्रदेशबाट उनीहरूको नाम समेटिएको हो ।

जसमा नेपाली कांग्रेसबाट ९ जना, एमालेबाट ७ जना, माओवादी केन्द्रबाट ४ जना, रास्वपाबाट ५ जना र राप्रपाबाट ४ जना प्रतिनिधिसभा सांसदको लागि सिफारिसमा परेका छन् । कांग्रेसले खसआर्य पुरुष तर्फबाट डा.प्रकाशशरण महत (नुवाकोट), खस–आर्य महिलातर्फबाट अम्बिका बस्नेत (काठमाडौँ), प्रतिमा गौतम (काठमाडौँ), रमा कोइराला (भक्तपुर)लाई प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको छ ।

त्यस्तै कांग्रेले आदिवासी जनजाति महिलातर्फबाट सुशीला थिङ (सिन्धुली), सपना राजभण्डारी (काठमाडौँ), अञ्जनी श्रेष्ठ (चितवन), दलित महिलातर्फबाट शान्ति विक (चितवन) र सीता मिजार (नुवाकोट)लाई सिफारिस गरेको छ ।

यता एमालेले आदिवासी–जनजाति कोटाबाट देवीप्रसाद भट्टचन (ललितपुर), नैनकला थापा मगर (चितवन), रणकुमारी बलम्पाकी मगर (सिन्धुली), शान्ति श्रेष्ठ (काठमाडौँ)लाई सिफारिस गरेको छ । एमालेले खस आर्य पुरुष कोटामा रघुजी पन्त (काठमाडौँ), दलित पुरुष कोटामा ईश्वरबहादुर रिजाल (दोलखा) र दलित महिला कोटामा रुक्मिनी राना बराइली (काभ्रे)लाई सिफारिस गरेको छ ।

माओवादी केन्द्रबाट बागमती प्रदेशबाट समानुपातिक तर्फबाट ४ जनाको नाम सिफारिसमा परेको छ । जसमा आदिवासी महिला कोटामा मिना तामाङ (काभ्रे) को नाम समावेश गरिएको छ भने खस आर्य महिला कोटामा ज्ञानु बस्नेत सुवेदी (चितवन), विमला सुवेदी (नुवाकोट) र दलित पुरुष कोटामा रणेन्द्र बराली (चितवन)लाई सांसद पदका लागि सिफारिस गरेको छ ।

रवि लामिछाने नेतृत्वको रास्वपाको समानुपातिक सूचिबाट सांसद्का लागि आदिवासी–जनजाति तर्फबाट सुमना श्रेष्ठ (काठमाडौँ), खस–आर्य महिला तर्फबाट डा.चन्दा कार्की (ललितपुर), खस आर्य पुरुष तर्फबाट डोलप्रसाद अर्याल (काठमाडौँ), दलित पुरुष तर्फबाट सन्तोष परियार (भक्तपुर) र मुस्लिम तर्फबाट असिम शाह (काठमाडौँ) सिफारिसमा परेका छन् ।

बागमती प्रदेशबाट राप्रपाको समानुपातिक सूचिबाट सांसद बन्नका लागि खस आर्य कोटामा पशुपति शमशेर जबरा (सिन्धुपाल्चोक), आदिवासी जनजाति पुरुष कोटामा बुद्धिमान तामाङ (धादिङ), आदिवासी जनजाति महिला कोटामा बिना लामा (धादिङ) र खस आर्य महिला कोटामा रोशन कार्की (ललितपुर) को नाम सिफारिस गरिएको छ । (रातोपाटीबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*