प्रतिनिधि सभातर्फ अहिलेसम्म २४ वटा निर्वाचन क्षेत्रको नजिता सार्वजनिक

बकैया दर्पण संवाददाता
७ मंसिर २०७९, बुधबार १०:०१

मकवानपुर । आमनिर्वाचनको मत गणनाको परिणाम आउने क्रम जारी छ । प्रतिनिधि सभातर्फ अहिलेसम्म २४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस १३ ठाउँमा विजयी भएको छ भने नेकपा एमाले चार सिटमा जित निकालेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी चार स्थानमा विजयी भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी एक एक स्थानमा विजयी भएका छन् ।

मतगणनाको पछिल्लो परिणाम अनुसार ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की तोसिमा कार्की १४२०८ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्दी एमालेका अमृत खड्काले ८ हजार २ सय २३ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्जामन्त्री पम्फा भुसालले ५ हजार ४ सय ५६ मत मात्रै प्राप्त गर्नुभयो ।

यस्तै, काठमाडौंको क्षेत्र नम्बर १० बाट नेपाली कांग्रेसका राजन केसी १४ हजार ४ सय ४८ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्दी एमालेका हिमेश केसीले ११ हजार ७८६ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ६ हजार २७७ मत प्राप्त गर्नुभयो ।

उता, सुर्खेत–२ बाट कांग्रेसका हृदयराम थानी ३४ हजार ६ सय २५ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिष्पर्धी एमालेका अमृतकुमार खड्काले २९ हजार ५५८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, डडेल्घुराबाट प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि विजयी हुनुभएको छ । उहाँले २५ हजार ५३४ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा नेपाली कांग्रेस वीपीका कर्ण मल्लले ७ हजार ५ सय ३५ मत प्राप्त गर्नुभयो ।

काठमाडौंको क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी हुनुभएको छ । पराजुलीले ८ हजार ७ सय ४३ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८ सय मत प्राप्त गर्नुभयो भने माओवादी केन्द्रकी उम्मेदवार मानुषि यमी भट्टराइले ६ हजार ६३ मत प्राप्त गर्नुभयो ।

यस्तै, काठमाडौंको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी हुनुभयो । गौतमले १५ हजार १ सय २९ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्दी मणिराम फुँयालले ११ हजार ५ सय ५५ मत प्राप्त गर्नुभयो भने राप्रपा उम्मेदवार कुन्ती पोखरेलले ११ हजार १४ मत प्राप्त गर्नुभयो ।

काठमाडौंको क्षेत्र नम्बर ८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी हुनुभयो । श्रेष्ठले १० हजार १ सय ५ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्दी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५ हजार ८ सय ८९ मत प्राप्त गर्नुभयो ।

यस्तै कांग्रेसबाट काठमाडौं–३ मा सन्तोष चालिसे, ४ मा गगन थापा र ५ मा प्रदिप पौडेल विजयी भएका छन् । यसैगरी, रसुवाबाट कांग्रेसका मोहन आचार्य निर्वाचित हुँदा ललितपुर–१ मा कांग्रेसका उदय शमशेर राणा, तनहुँ–२ मा शंकर भण्डारी पनि विजयी भएका छन् ।

नेकपा एमालेबाट अहिलेसम्म चार जना प्रतिनिधि सभामा निर्वाचित भएका छन् । एमालेले काठमाडौं, ललितपुर, उदयपुर र पर्वतमा एक एक वटा क्षेत्र जितेको छ । काठमाडौं–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी हुँदा ललितपुर–२ मा प्रेम बहादुर महर्जन र उदयपुर–२ मा अम्बरबहादुर रायमाझी विजयी भएका छन् ।

ृउता बाँके क्षेत्र नम्बर २ मा राप्रपा उम्मेदवार धवल शमशेर राणा विजयी हुनु भएको छ । उहाँले २९ हजार ५ सय ७७ मत प्राप्त गरी विजयी हुँदा निकटतम् प्रतिद्वन्दी मोहम्मद इस्तियाक राइले २३ हजार ५ सय २० मत प्राप्त गर्नुभयो ।

यसैगरी रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टीबाट कैलालीमा एक जना निर्वाचित भएका छन् । कैलाली–३ बाट गंगाराम चौधरी निर्वाचित भएका हुन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीले अछामबाट खाता खोलेको छ । सो पार्टीका उम्ममेदवार शेरबहादुर कुँवरले १९ हजार ५ सय ३४ मत प्राप्त गरी विजयी हुँदा निकटतम् प्रतिद्वन्दी झपट बहादुर बोहोराले १५ हजार ४५ मत प्राप्त गर्नुभयो ।

मत गणना भईरहेका क्षेत्रहरु मध्ये कांग्रेसले ४३ सिटमा अग्रता लिईरहेको छ भने एमालेले ४१ ठाउँमा एमालेले अग्रता लिएको छ । यसैगरी १६ ठाउँमा माओवादी केन्द्रले अग्रता लिंदा राष्ट्रिय स्वतन्त्र पार्टी र एकिकृत समाजवादीले ८–८ सिटमा अग्रता लिएका छन् । राप्रपाले ५ ठाउँमा अग्रता लिएको छ भने जसपाले ५ ठाउँमा तथा लोसपाले ३ ठाउँमा अग्रता लिएका छन् । ८ ठाउँमा स्वतन्त्र उम्मेदवार तथा अन्य साना दलहरुले अग्रता लिईरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*