नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको राष्ट्रपतिको भनाई

बकैया दर्पण संवाददाता
२४ कार्तिक २०७९, बिहीबार ०८:०६

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मानव अधिकार, समानता, भेदभावरहित, रूपान्तरणका सिद्धान्त आत्मसात् गरिएको समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताउनुभएको छ ।

गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा बुधबार आयोजित रेक्याभिक ग्लोबल फोरम (वुमन लिडर्स) मा विशेष सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समानता र न्यायपूर्ण समाज निर्माणका लागि शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक, राजनीतिक प्रबन्धमा लगानी गरिरहेको जनाउनुभएको हो ।

उहाँले नेपालदेखि आइसल्याण्डसम्मको यात्राले ‘तेस्रो ध्रुव’देखि उत्तरी ध्रुवसम्म जोडेको बताउनुभयो। उनले गौतम बुद्ध र सगरमाथाको देशबाट नेपाली जनताको न्यानो सद्भाव लिएर आएको जनाउनुभयो ।

‘विश्व महिला राजनीतिक नेतृत्व मञ्चले ‘सञ्चार, सम्बन्ध र समुदाय’को बहुआयामिक प्रयासबाट लैंगिक समानताको नयाँ बाटो तय गर्ने लक्ष्य लिएको छ’, उहाँले भन्नुभयो, ‘समानता, आवाज, प्रतिनिधित्व र सहभागिताका लागि हामीले गरेको लामो संघर्षका उपलब्धि एकआपसमा साट्ने उत्सवका रूपमा पनि हामीले यो फोरमलाई लिएका छौँ ।’

राष्ट्रपति भण्डारीले नेपालमा जलवायु परिवर्तनको असर हरेक वर्ष बढ्दो र झन् विनाशकारी हुँदै गएको अनुभव गरेको सुनाउनुभयो । उहाँले जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गइरहेको तथा हिमालयमा सधैँ महिना जमिरहने हिउँ पग्लिरहेका कारण लाखौँ मानिसको जनजीविका जोखिममा परेको बताउनुभयो ।

सम्मेलनमा विभिन्न पुस्ताका नेपाली विराङ्गनाको प्रतिनिधित्व गर्न पाउँदा आफूले गौरवान्वित महशुस गरेको भन्दै उहाँले महिला र पुरुषबीचको समान हैसियत हुने समावेशी समाज निर्माण गरी विश्वका चुनौती सामना गर्ने सामूहिक अभियानमा सम्मिलित हुन पाउँदा सम्मानित महशुस गरेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*