‘दीपावलीको प्रकाशले सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरणा मिलोस्’: राष्ट्रपति विद्यादेवी भण्डारी

बकैया दर्पण संवाददाता
७ कार्तिक २०७९, सोमबार ०८:४६

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको प्रकाशले सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्‍ने कामना गर्नुभएको छ ।

तिहारको पावन अवसरमा शुभकामना जारी गरी भण्डारीले देश विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

‘तिहार पर्वले एकातिर प्रकृति‚ मानव र प्राणी जगत्‌को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको पवित्र र आत्मीय सम्बन्धलाई प्रगाढ बनाउँछ’, उहाँको सन्देशमा उल्लेख छ, ‘तिहारको अवसरमा खेलिने देउसी–भैलोको दक्षिणाबाट स‌कलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा लगाउने असल परम्परा समेत रहेको छ ।’

भण्डारीले यस प्रकारका असल परम्परा र अभ्यासलाई जोगाउनु पर्ने बताउनु भएको छ । तर बढ्दो उपभोक्तावादी प्रवृत्तिका कारण चाडबाड मनाउने सन्दर्भमा देखिने भड्किलोपन र खर्चिलोपनका साथै तिहारलाई जुवा–तास खेल्ने अवसरका रूपमा लिने नकारात्मक पक्षलाई भने क्रमशः हटाउँदै जानुपर्ने उहाँको सन्देशमा उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*