सत्यमोहन जोशीको निधनप्रति राष्ट्रपति भण्डारी, प्रधानमन्त्री र शीर्ष नेताद्धारा दुःख ब्यक्त

बकैया दर्पण संवाददाता
३० आश्विन २०७९, आईतवार १२:३९

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताउनुभएको छ ।

जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको भन्दै उहाँले जाेशीकाे सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको समेत उल्लेख गर्नुभएको हाे ।

त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि जोशीको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । आज (आइतबार) सामाजिक सञ्जाल ट्वीटरमा श्रद्धाञ्जली दिँदै उहाँले जोशीको निधनको खबरले दुखित तुल्याएको बताउनुभएको छ । नेपाली संस्कृतिको क्षेत्रमा जोशीले गरेको योगदान राज्यले सधैं सम्झिरहने समेत उहाँले बताउनुभयो ।

त्यस्तै, एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि जोशीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको निधनले बितेको शताब्दीसँग अहिलेको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको उल्लेख गर्नुभएको छ।

साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि शताब्दी पुरुष जोशीको निधनबाट स्तब्ध भएको बताउनुभएको छ । जोशीलाई श्रद्धाञ्जली अर्पण गर्दै उहाँले नेपाल सरकार, नेपाली जनताले उहाँको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने विश्वास समेत व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*