राष्ट्रपति भण्डारीबाट नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्न अस्वीकार

‘गए रातिदेखि विधेयक स्वतः खारेज’
बकैया दर्पण संवाददाता
५ आश्विन २०७९, बुधबार १०:३५

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ ।

संसदका दुवै सदनले पारित गरी गत भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको विधेयक मंगलबार राति १२ बजेभित्र प्रमाणीकरण भईसक्नु पर्ने थियो । तर, राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभयो । जसका कारण नागरिकता ऐन संशोधन विधेयक मंगलबार रातिदेखि स्वतः खारेज भएको छ ।

संघीय संसद्का दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणीकरणका लागि पेस भएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण नगरे विधेयक निष्क्रिय हुने प्रावधान रहेको छ । उक्त विधेयक पहिलो पटक प्रमाणीकरणका लागि पेश हुँदा राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि सन्देशसहित संसदमा फिर्ता पठाउनु भएको थियो । तर, दुवै सदनले जस्ताको तस्तै पुनः पारित गरी राष्ट्रपति समक्ष पठाएका थिए ।

यसबीचमा राष्ट्रपति भण्डारीले विभिन्न पक्षहरुसँग परामर्श गर्नुभएको थियो । विधेयक प्रमाणीकरण नभएपछि राजनीतिक वृत्तमा भने तरङ्ग उत्पन्न भएको छ । सत्तारुढ दलहरुले राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेको आरोप लगाएका छन् । तर विपक्षी दलहरु र सर्वसाधारणबाट भने विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको निर्णयको सरहाना गरेका छन् । (ईमेजखबरबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*