नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने प्रधानमन्त्री देउवाको उद्घोष

बकैया दर्पण संवाददाता
३१ भाद्र २०७९, शुक्रबार १३:३२

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताउनुभएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा औपाचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रश्ताव गर्नुभएको उल्लेख गर्दै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि शुरुवात गर्ने योजना बनाएको बताउनु भयो ।

उहाँले कोरोनाका कारण नेपालको आर्थिक अवस्था राम्रो नभएको बेलामा समेत खेलकुद विश्वविद्यालय खोल्ने सोच बनाएको बताउनु भयो । प्रधानमन्त्री देउवाले खेलकुद विश्वविद्यालयले आगामी दिनमा युवाहरुको खेलप्रति आकर्षण बढ्ने विश्वास लिएको बताउनुभयो ।

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिव १० लाख रुपैयाँमा राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफी आफूसँग राख्न पाउनेछ । नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागिय टोलीमा पुर्‍याईनेछ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ओलम्पियन एवं दक्षिण एसियाली खेलकुदका कीर्तिमानधारी दीपक बिष्टको संयोजकत्वमा ५ सदस्सीय ट्रफी टूर कार्यदल गठन गरेको छ । कार्यदलमा क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य हुनुहुन्छ ।

ट्रफी शुक्रबार सुदूरपश्चिम पठाइने र शनिवार बिहान ८ बजे धनगढी रंगशालामा सार्वजनिक गर्ने, असोज २ गते लुम्बिनी प्रदेशको एन्फा टेक्निकल सेन्टरमा दिउँसो ३ बजे, असोज ३ गते वागमती प्रदेश हेटौंडास्थित मानसचोकमा बिहानको ८ बजे, नेपाली सेनाको मुख्यालय जंगी अड्डामा असोज ७ गते बिहान १० बजे, प्रदेश १ को विराटनगर रंगशालामा असोज ८ गते, नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय नक्शालमा असोज ९ गते, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा असोज ९ गते, कर्णाली प्रदेशको सुर्खेत रंगशालास्थित सेमी कभर्डहलमा असोज ११ गते, मधेस प्रदेशको रामजानकी मन्दिरको परिसरमा असोज १३ गते र गण्डकी प्रदेशमा असोज २३ गते सार्वजनिक गर्ने कार्यक्रम छ ।

गण्डकी प्रदेशमा भने पोखरा विमानस्थलबाट बाजागाजा र झाँकीसहित ट्रफी पोखरा पुर्‍याइनेछ । (इमेजखबरबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*