२०२६ सम्ममा नेपाललाई विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने प्रधानमन्त्री देउवाको भनाई

बकैया दर्पण संवाददाता
२९ भाद्र २०७९, बुधबार १४:२३

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताउनुभएको छ ।

बुधबार काठमाडाैंमा लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक स्तरोन्नति गर्दै सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताउनुभएको हो । उहाँले वर्तमान सरकारले १५ औं पञ्च वर्षीय योजना अनुसार पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरिरहेको समेत बताउनुभयो ।

प्रधानमन्त्री देउवाले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने राष्ट्रिय नीति तथा योजना रहेको बताउनुभयो । उहाँले दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यकता पर्ने बताउनुभयो । उहाँले त्यसको लागि निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोगको आवश्यकता रहेको औंल्याउनुभयो । उहाँले मुलुकमा पूर्वाधार विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै लगानी बढाउन समेत आग्रह गर्नुभयो ।

उहाँले नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्न सकिने अवस्था रहेको बताउनुभयो । उहाँले लगानी बोर्डले ३३ वटा आयोजनाको लागि ९ अर्ब डलर बराबरका योजना स्वीकृत गरेको भन्दै जसमध्ये २० वटा ठूला जलविद्युत परियोजना रहेको बताउनुभयो । लगानी बोर्ड दिगो पूर्वाधार लगानी फोरममा नेपालले घरेलु तथा बाह्य निजी लगानी आकर्षण गर्न अत्यावश्यक मानिएको परियोजना बैंक स्थापना गर्न निर्देशिका जारी गरेको छ । ३ वर्षअघि सार्वजनिक निजी साझेदारी र लगानी ऐन (पीपीपीआईए) ले नै गुणस्तरीय लगानी आकर्षणका लागि परियोजना विकास बैंक स्थापनाको परिकल्पना गरेको थियो ।

तर ३ वर्षसम्म पनि निर्देशिका भने बन्न सकेको थिएन । बैंक योग्य पूर्वाधारको सुनिश्चित पाइपलाइन परियोजनाको सिर्जना गर्ने, घरेलु प्रत्यक्ष लगानी (डीडीआई) तथा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का लागि आन्तरिक आकर्षित गर्न परियोजना बैंकले सहयोग गर्ने छ । बोर्डले वैदेशिक लगानी भित्र्याउन सहयोग गर्ने संस्था र व्यक्तिलाई सम्मान समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*