जबराको जिकिर : महाअभियोग लगाउनेहरु समितिमा बस्न नमिल्ने

बकैया दर्पण संवाददाता
१६ भाद्र २०७९, बिहीबार १५:५२

मकवानपुर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिस समितिले सोधेको प्रश्न औचित्यहीन भएको दावी गर्नुभएको छ ।

प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको विषयमा सोधिएको प्रश्नमा उहाँले यसको कुनै औचित्य नभएको दावी गर्नुभएको छ । समितिले बिहीबार दोस्रो दिन लिएको बयानका क्रममा उहाँले समितिको प्रश्नमाथि नै प्रश्न उठाएपछि समितिमा रहेका सांसदहरू आक्रोशित भएका थिए । समिति सदस्य कल्याणी खड्काले निलम्बित प्रधानन्यायाधीश जबराको उत्तरले समितिमाथि नै प्रश्न उठाएको भन्दै विरोध गर्नुभयो । उहाँले विरोध जनाएपछि निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथि लागको आरोपको जवाफ दिएको भन्दै समितिले आफूलाई असक्षम भनेर लगाएको आरोप गलत भएको तर्क गर्नुभयो ।

उहाँले आफूले संवैधानिक र तत्कालीन प्रमाणबारे बोलेकाले कसैलाई आरोप लगाएको भन्ने अर्थमा बुझ्न नहुने तर्क गर्नुभयो । जबराले महाभियोग प्रस्ताव गर्नेहरू नै समितिमा बस्न मिल्छ कि मिल्दैन भनेर प्रश्नसमेत उठाउनुभयो । जबराले आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको समेत दावी गर्नुभयो ।

योसँगै निलम्बित प्रधानन्यायाधीश जबरामाथिको बिहीबारको बयान सकिएको छ । अर्को बैठक १९ गतेका लागि बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*