निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान सुरु

बकैया दर्पण संवाददाता
१५ भाद्र २०७९, बुधबार १३:४३

मकवानपुर । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिन सुरु गरेको छ ।

बुधवार महाभियोग सिफारिस समितिले जबरालाई सिंहदरबारमा रहेकाे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक कक्षमा बयान लिन सुरु गरेको हो । समितिको बैठकमा जबरा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारलाई बाहिर पठाइएको थियो । यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग सिफारिस समितिमा बहस चलेको थियो । जसका कारण बयान लिन ढिलाइ भएको थियो ।

समितिका सदस्यसमेत रहेका नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले बयानलाई खुला राख्नुपर्ने धारणा राख्नुभएको थियो । यद्यपि नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मा, नेकपा (माओवादी) की रेखा शर्मा र नेकपा (एकीकृत समाजवादी) की कल्याणी खड्काले बन्द बयान लिनुपर्ने अडान लिनुभयो । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई ४३ वटा प्रश्न सोध्ने भएको छ । जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरिएको समितिले जनाएको छ ।

गएकाे बुधवार समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई बयानका लागि बोलाएको थियो । आज बिहान ११ बजे नै आफूमाथि लागेको आरोपबारे बयान दिन जबरा सिंहदरबार पुग्नुभएको थियो । गएकाे फागुन १ गते सत्तारूढ दलका सांसदले महाअभियोग दर्ता गराएपछि उहाँ स्वतः निलम्बनमा पर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*