राष्ट्रियसभाले नागरिकता विधेयक पुनर्विचारको लागि विधायन व्यवस्थापन समितिमा

बकैया दर्पण संवाददाता
१२ भाद्र २०७९, आईतवार १५:२६

मकवानपुर । राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,२०७९ लाई पुनर्विचारको लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

राष्ट्रिय सभाको आइतबार बसेको दोस्रो बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको सोही विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकमा पेश गर्नुभएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोही प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभयो ।

आइतबार नै बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फूँयालले राष्ट्रपति भण्डारीबाट पुनर्विचारका लागि फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराउनुभएको थियो ।

राष्ट्रपति कार्यालयबाट पुनर्विचारका लागि फिर्ता भएको सोही विधेयक यहि भदौ २ गते बिहिबार बसेको प्रतिनिधि सभाको बैठकले यथावत रुपमा पारित गरेको थियो । राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सचिव फूँयालले प्रतिनिधि सभाबाट उत्पत्ति भइ सोही सभाबाट पारित भएका बिमा विधेयक, २०७५, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६, सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ सम्बन्धी प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरु टेबुल गर्नुभयो ।

त्यस्तै राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाइएको शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई प्रतिनिधि सभाले संशोधनसहित फिर्ता पठाएको सन्देश पनि सभासमक्ष टेबुल गर्नुभयो । त्यसैगरी उहाँले राष्ट्रिय सभाबाट पारित भइ सन्देशसहित प्रतिनिधि सभामा पठाइएका शपथ सम्बन्धी विधेयक, २०७८, तथ्यांक विधेयक, २०७६,स्टाण्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक, २०७६ र प्रत्यायन विधेयक, २०७६ हरुका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउनुभयो ।

बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रस्ताव गर्नुभएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत पनि गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते बिहिबार दिउँसो २ः५९ बजे बस्ने गरी बोलाइएको छ । (इमेजखबरबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*