प्रचण्डको दावी : भदौ १५ भित्रै सिट बाँडफाँटको टुंगो लाग्ने

बकैया दर्पण संवाददाता
१० भाद्र २०७९, शुक्रबार १५:४९

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धरान पुगेर मेयर हर्क साम्पाङसँग रुख रोप्नुभएको छ ।

धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपणको श्रमदान कार्यमा उहाँ सहभागी हुनुभएको हो । मेयर साम्पाङको आव्हानमा साप्ताहिकरूपमा हरेक शुक्रबार वृक्षारोपण हुँदै आएको छ । केही दिनअघि काठमाडौं आएका मेयर साम्पाङले श्रमदानका लागि धरान आउन प्रचण्डलाई भेटेरै निम्तो दिनुभएको थियो । जेवी टुहुरेको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा दाशालले बिरुवा रोपेर पानी हाल्नुभएको हो ।

दाहालले हर्क साम्पाङको श्रमलाई खुलेर प्रशंसा पनि गर्नुभयो । उहाँले हर्कको व्यवहार र आचरणबाट प्रेरणा लिन माओवादी पार्टीका कार्यकर्तालाई आग्रहसमेत गर्नुभएको छ । यसअघि विराटनगर विमानस्थलमा दाहालले भदौ १५ भित्र सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लाग्ने दावी गर्नुभएको थियो । बाहिर हल्ला भएकोजस्तो असहमतिको वा सकसपूर्ण अवस्था नरहेको जिकिर गर्दै दाहालले भदौ १५ भित्र सबै काम सकिने बताउनुभयो ।

फरक प्रसंगमा राष्ट्रपतिबाट नागरिकता विधेयक स्वीकृत हुने पनि उहाँले विश्वास व्यक्त गर्नुभएको छ । दाहालले राष्ट्रपतिका कतिपय व्यवहार भने स्वाभाविक नदेखिएको टिप्पणी गर्नुभयो । नागरिकता विधेयकमा सुझाव दिएकी राष्ट्रपतिलाई सत्ता गठबन्धनले सोही विधेयक जस्ताको तस्तै पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिने हल्ला चलिरहेको छ । सेनाका पूर्व अधिकारीहरूसँग छलफल गरेपछि राष्ट्रपतिको आलोचना भइरहेको छ । यो कदमको सबैजसो नेताहरूले आलोचना गरेका छन् ।

पार्टीको पदाधिकारी समावेशी नभएको भन्ने गुनासो जायज नभएको बताउँदै उहाँले पदाधिकारी दैनिक काम सम्पन्न गर्नका लागि आवश्यक पर्ने तर नीति बनाउने स्थायी कमिटीमा एकैपटक १० जना महिला ल्याउने तयारी भइरहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*