आजदेखि एमाले केन्द्रीय कमिटी बैठक बस्दै

बकैया दर्पण संवाददाता
१० भाद्र २०७९, शुक्रबार १०:१४

मकवानपुर । प्रमुख पतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज शुक्रबारदेखि बस्दैछ । बिहीबार बसेको पोलिटब्युरो बैठकले कमिटी बैठकका लागि ११ वटा एजेण्डा तय गरेको छ ।

पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ अनुसार पहिलो एजेण्डाका रुपमा अध्यक्ष केपी शर्मा ओलीको लिखित राजनीतिक प्रतिवेदन पेससहित त्यसमा ग्रुप विभाजनमार्फत छलफल गर्ने, मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई सपथ गराएर बैठकमा सहभागी गराउने दोस्रो एजेण्डा रहेको छ । त्यस्तै यसअघि पार्टी सचिवालयले गरेका निर्णयहरु पेश गर्ने तेस्रो एजेण्डा रहेको छ भने उम्मेदवार छनोटको मापदण्ड र प्रक्रिया चौथो एजेण्डा बनेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो ।

त्यस्तै पाँचौ एजेण्डामा स्थानीय निर्वाचनका सम्वन्धमा छानबिन गर्न उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको छानबिन समितिको प्रतिवेदन पेश गर्ने र छैठौं एजेण्डामा दोहोरिएका पार्टी संगठित सदस्यलाई व्यवस्थापन गर्ने रहेको छ । केन्द्रीय सल्लाहकार परिषद र तीन आयोगको रिपोर्ट अनुमोदन गर्ने सातौं एजेण्डा र भारत प्रवासको नियमावली पास गर्ने आठौं एजेण्डा बनाएको एमालेले पार्टी विभाग परिचालनका सम्वन्धमा केही नियमहरु पारित गर्ने एजेण्डा तय गरेको छ ।

त्यसैगरी मनोनित केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन पनि एमाले केन्द्रीय कमिटी बैठकले गर्नेछ । यस्तै, मुद्रास्फिति र मुल्यवृद्धि बढेको विषयमा केन्द्रीय कमिटीमा छलफल हुनेछ । बैठक आज शुक्रबार र भोलि शनिबार बस्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*