भदौ १३ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

बकैया दर्पण संवाददाता
७ भाद्र २०७९, मंगलवार १२:२५

मकवानपुर । प्रतिनिधि सभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९’ प्रस्तुत भएको छ ।

मंगलवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गर्नुभएको हो ।

उहाँले सो विधेयक प्रस्तुत गरेसँगै प्रतिनिधि सभाको बैठक भदौ १३ गते सोमवार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा बैठक एक साता पछि सारिएको संसद सचिवालयले जनाएको छ । एमालेको स्थायी कमिटी र केन्द्रीय समितीको बैठक बस्दैछ ।

सो विधेयक प्रस्तुत गरेपछि बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि र दुवै आयोगको पदाधिकारीहरूको पदावधि समाप्त हुन लागेकाले शान्ति प्रक्रियाका काम बाँकी रहन गएको बताउनुभयो ।

उहाँले संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन विधेयक आवश्यक रहेको उल्लेख गर्नुभयो । नेपालको अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता, नेपालको संविधान, सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त तथा निर्देशनात्मक आदेश लगायतको आधारमा विधेयक तयार पारिएको बताउनुभयो ।

त्यस्तै अन्तर्राष्ट्रिय मानव अधिकार तथा मानविय कानूनको विश्वव्यापी मान्यता, संक्रमणकालीन न्यायका सिद्धान्त, पीडित र सरोकारवाला व्यक्तिहरुबाट प्राप्त भएका सुझावहरूलाई पनि समेटिएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*