माओवादीको चुनाव चिह्न लिएर वामदेव र बाबुरामले चुनाव लड्ने

बकैया दर्पण संवाददाता
३१ श्रावण २०७९, मंगलवार ११:५३

मकवानपुर । आउँदो मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् ।

बिहान बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले भट्टराई र गौतमलाई आफ्नो चिह्नमा चुनाव लड्न दिने निर्णय गरोको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग प्रवक्ता कृष्णबहादुर महराले माओवादी केन्द्रको चुनाव चिह्न हसिया हथाैडामा चुनाव लड्नका लागि स्वीकृति दिएको बताउनुभयो । उहाँले दुवै नेताले राखेका केही सर्तहरुका बारेमा भने भोलि छलफल हुने बताउनुभयो । उहाँले नेता भट्टराई र गौतमले राखेको सर्तका बारेमा गठबन्धन भित्र पनि छलफल गरेर टुङ्गो लगाउने निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बसेको छ । हामी भोलि बिहान फेरि बैठक बस्छौँ । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम, अर्को पार्टीका बाबुराम कमरेडले हाम्रो नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट आउँदाे संसदीय चुनाव लड्ने विचार व्यक्त गर्नुभयो । त्यसको हामी स्वागत गर्दछौँ । हामी उहाँहरु दुवै जनालाई उहाँहरुका पार्टीका अन्य सदस्यहरुलाई पनि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न, हसिया हथाैडामा चुनाव लड्नको निमित्त स्वीकृति गर्याैँ । उहाँहरुले राखेका केही सर्तहरु छन् । ती सर्तको विषयमा उहाँहरुसँग छलफल गर्ने, गठबन्धन भित्र पनि छलफल गरेर टुङ्गो लगाउने कुरा भएको छ ।’

माओवादी केन्द्रको स्थायी कमिटीको अर्को बैठक बुधवार बिहान बस्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*