निर्वाचनमा कांग्रेसलाई ठूलाे पार्टी बनाउन सिंगो पार्टी पंक्तिलाई प्रधानमन्त्री देउवाकाे आह्वान

बकैया दर्पण संवाददाता
३० श्रावण २०७९, सोमबार १३:५३

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीलाई सबै भन्दा ठूलो पार्टी बनाउने काममा ध्यान दिन सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न र नेपाली कांग्रेसलाई सबै भन्दा ठूलो पार्टी बनाउन पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नुभयो । कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन ललितपुरको हेरिटेज गार्डेनमा सोमबारबाट सुरु भएको कार्यक्रममा बोल्दै उहाँले निर्वाचनमा पार्टीको पक्षमा जनताको समर्थन जुटाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

लोकतन्त्रमा जनताभन्दा ठूलो अरु कोही नहुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि जनताको साथ र समर्थन लिएर आफ्नो पार्टी विजयी हुने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले सत्तारुढ गठबन्धन मिलेर निर्वाचनमा गएकाले स्थानीय तह निर्वाचनमा पार्टीले सफलता हात परेको स्पष्ट पार्दै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनले मिलेर चुनाव लडने तयारी गरिरहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि सफलता हात पार्नका लागि जनताको मन जित्नुपर्ने र त्यसका लागि स्थानीय तहका पार्टीका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने पटकपटक दोहोर्याउनुभयो । प्रधानमन्त्री देउवाले कोभिड संकट समाधान गराउन, संवैधानिक मूल्यमान्यता अनुसार मुलुकलाई अघि बढाउन, एमसीसीकाे विषयमा भएको भ्रम चिर्न आफू नेतृत्वको सरकारले महत्वपूर्ण सफलता हासिल गरेको दावी समेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई आगामी आम निर्वाचनमा बहुमत नजिकको पार्टी हुने गरी विजयी गराउने काममा पार्टीबाट निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*