कोइराला समूहको बैठक आज बस्दै

बकैया दर्पण संवाददाता
२८ श्रावण २०७९, शनिबार १०:५८

मकवानपुर । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरिरहेको भन्दै नेता शेखर कोइराला समूहले आफू पक्षीय नेताहरुको बैठक डाँक्नुभएको छ ।

देउवाले आफूहरुलाई पेलेको तथा पार्टीभित्र कुनै सल्लाह नगरेर अघि बढेको भन्दै कोइराला समूहले आज शनिबार दिउँसो बैठक बोलाएको हो । बैठकमा देउवाविरुद्धको रणनीति तय हुने बताइएको छ । बैठकमा आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यलाई बोलाइएको एक नेताले जानकारी दिनुभयो । सभापति देउवाले ५ वटा भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा कोइराला समूहलाई समेटिएको छैन । यस्तै, पार्टी सञ्चालनमा पनि देउवा एकलौटी ढंगले अघि बढेको शेखर पक्षीय नेताहरुको आरोप छ ।

देउवा निरन्तर अहिलेकै शैलीमा अघि बढे अब समानान्तर गतिविधि गर्ने कोइराला समूहको तयारी छ । देउवाले नेविसंघ, महिला संघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति महासंघमा नयाँ नेतृत्व चयन गर्नुभएको छ । कोइराला समूहले सुरूमा नेविसंघ र तरुणमध्ये कुनै एकमा आफूले नेतृत्व पाउनुपर्ने माग राखेको थियो । यस्तै, किसान र दलित संघमा पनि नेतृत्व चाहेको थियो । तर, कुनैमा पनि कोइराला समूह अटेको छैन । यस्तै, चुनावी रणनीतिका सन्दर्भमा पनि कोइराला समूहको बैठकमा छलफल हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*