सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै

बकैया दर्पण संवाददाता
२६ श्रावण २०७९, बिहीबार १०:२६

मकवानपुर । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बिहीबार बस्दैछ । दिउँसो २ बजे बालुवाटारमा बस्ने कार्यदलको बैठकले आगामी चुनावमा सिट बाँडफाँटको खाका र आधारबारे छलफल थाल्नेछ । कार्यदलले यसअघि एउटा मात्रै बैठक गरेको थियो । कार्यदलको यही साउन २३ गते बसेको पहिलो बैठक औपचारिकतामै सीमित भएको थियो ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलबीच तालमेलको खाका बनाउन सत्तारुढ पाँच दलले ११ सदस्यीय कार्यदल गठन गरेका छन् । उक्त बैठकबाट नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यदल संयोजक तोकिनुभएको छ । कार्यदलमा कांग्रेसबाट तीन जना र अन्य चार दलबाट दुई–दुई जना सदस्य छन् । कार्यदललाई सिट बाँडफाँटको आधार तय गरी कुन दलले कति सिट लिने सहमति गर्न भनिएको छ । यो कार्यदलले टुंगो लगाउन नसकेका ठाउँ भने प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरुले टुंगो लगाउनेछन् ।

सम्भवतः बिहीबारको कार्यदल बैठकमा दलहरूले आ–आफ्ना दाबी पेश गर्दैछन् । नेपाली कांग्रेसभित्र आफूले ६० प्रतिशत सिट राखेर ४० प्रतिशत अन्य दललाई दिन दबाब छ । अन्य दलले पनि आफूहरूले सम्मानजनक सिट पाउनुपर्ने बताइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*