मनलाग्दी भाडा असुलीबारे अनुगमन गर्न संसदीय समितिको निर्देशन

बकैया दर्पण संवाददाता
२३ श्रावण २०७९, सोमबार १६:०९

मकवानपुर । संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरूसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिनुभएको हो ।

समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरूसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताउनुभयो । उहाँले सडक सीमा अतिक्रमण गरी सडक सीमा भित्र बनाएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिनुभयो ।

सभापति खड्काले देशका मुख्य सडकहरूमा बाढी पहिरोको कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन पनि निर्देशन दिनुभयो । उहाँले राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय स्तरका सडकहरूको निर्माण तथा स्तर उन्नतिको काममा भइरहेको ढिलासुस्ती तथा न्यून कार्यप्रगतिलाई ध्यानमा राखी निर्माणाधीन नारायणघाट– मुग्लिन र मुग्लिन–पोखरा सडक स्तरोन्नत्तिको कार्य निर्धारित समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो ।

सभापति खड्काले वातावरण, प्रविधिमैत्री र गुणस्तरीय विकास निर्माणसहित दीर्घकालिन समाधान सहितको विकास निर्माणको विषयमा तत्काल अध्ययन गरी कानून ल्याउन सरकारलाई निर्देशन दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*