सिंहदरबारका नायव सुब्बाहरूद्वारा पेन डाउन

बकैया दर्पण संवाददाता
२३ श्रावण २०७९, सोमबार १४:०२

मकवानपुर । सिंहदरबारका नायव सुब्बाहरूले पेन डाउन सुरु गरेका छन् । नासुभन्दा माथिल्लो तहका कर्मचारीको तलब बढे पनि त्योभन्दा तल्लो तहका कर्मचारीको तलबमान कम भएपछि आन्दोलन गर्नुपरेको निजामति कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले बताउनुभयो ।

सरकारले प्रस्तावित संघीय निजामति ऐनमा आफूहरूको माग सम्बोधन नगरेको भन्दै आन्दोलन सुरु गरेको पोखरेलले बताउनुभयो । उनीहरूले नासुमा काम गरेको १० वर्ष पुगेकालाई एक तह, १० वर्षभन्दा बढी काम गरेकालाई दुई तह बढुवा गर्ने व्यवस्था गर्नुपर्ने माग राखेका छन् । आफूहरूले राखेको माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने पोखरेलले बताउनुभयो ।

सामान्य प्रशासन मन्त्रालयका कर्मचारीले आफूलाई सुप्रिम ठान्दा यस्तो समस्या भएको कर्मचारीहरूको आरोप छ । उनीहरूले नायब सुब्बाको बढुवामा ३० प्रतिशत ज्येष्ठता, १० प्रतिशत आन्तरिक र १० प्रतिशत अन्तरसेवाको मूल्याङ्कन अंकभार राखिनुपर्ने माग राखेका छन् । राज्य सञ्चालनमा आफूहरूको महत्वपूर्ण योगदान रहेको नायब सुब्बाहरूको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*