सप्तकोशी नदीको बाँध फुट्यो, २० हजार स्थानीय प्रभावित

बकैया दर्पण संवाददाता
१८ श्रावण २०७९, बुधबार १६:१२

मकवानपुर । सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेसँगै डुबानमा परेको बस्तीका बासिन्दाहरू प्रभावित भएका छन् । सप्तकोशी नदीको बाँध फुटेर उदयपुरको बेलका नगरपालिका १, २, ३, ८ र ९ नम्बर वडाको क्षेत्रमा बाढी पसेको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडा पनि डुबानमा परिसकेको छ । बुधबार विहान सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको थियो । जसको असर क्रमशः सप्तरी र सुनसरीमा समेत पर्ने देखिएकोले तीन जिल्लामा शतर्कता अपनाइएको छ ।

बस्तीमा पसेका कारण आसपासका उदयपुर, सुनसरी, सप्तरी लगायतका जिल्लाका करिव २० हजार मानिस प्रभावित हुनसक्ने आँकलन गरिएको छ । नदीको धार पुरानो ठाउँमा फर्किंदा बस्ती डुबानमा परेको स्थानीयहरूको भनाइ छ । बस्तीमा बाढी पसेसँगै स्थानीय आफ्ना सामान पोको पारेर सुरक्षित स्थानतर्फ लागेका छन् । गाउँ डुबिनसके पनि सरकारले डुब्नसक्ने जोखिमका कारण सुरक्षित स्थानमा जान आग्रह गरेको स्थानीय बताउँछन् । पानीको सतह बढिरहेकाले वस्तुभाउ छोडेर निस्किएको स्थानीय बताउँछन् । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् । पूर्वी नेपालमा अविरल वर्षाका कारण पानीको सतह झनै बढ्दै गएकोले जोखिम अझै बढ्नसक्ने अनुमान छ ।

पानीको सतह बढ्दै गए चार हजार घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ । जोखिम क्षेत्रको रेखाङ्कन गरेर थप शतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ । नदी कटानले कोशीको बहाव गाँउतिर पसेको स्थानीय बताउँछन् । बराहक्षेरत्रस्थित श्रीलंका टापुमा गएरातिबाट सप्तकोशीको भंगालो पसेको त्यहाँ फसेका बासिन्दालाई उद्धार गर्न समस्या भइरहेको बताइएको छ । सप्तकोसी नदीको बाँध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ डुम्रीबोट र लाहुरेखोच क्षेत्रको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीसहितको टोलीले बुधबार स्थलगत अनुगमन गरिसकेको छ भने प्रभावित बासिन्दाको सुरक्षा र उद्धार कार्यमा सहजीकरण गर्ने काम भइरहेको छ ।

सप्तकोशीबाट बस्ती क्षेत्रमा पसेको पानीले बेलका नगरपालिका तथा सप्तरीका कञ्चनरुप र सप्तकोसी नगरपालिकामा समेत क्षति गर्नसक्ने अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*