नायब सुब्बाहरू संघीय ऐनविरूद्ध आन्दोलित

बकैया दर्पण संवाददाता
१६ श्रावण २०७९, सोमबार १३:५०

मकवानपुर । सरकारले संघीय निजामति ऐनमा नायब सुब्बाका मागहरू सम्बोधन नगरेको भन्दै नायब सुब्बाहरू आन्दोलनमा उत्रिएका छन् ।

आज (सोमबार) सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालय अगाडि नायब सुब्बा बचाउ अभियानसहित विभिन्न सरकारी निकायका सम्पूर्ण नायब सुब्बाहरूले आन्दोलन सुरू गरेका हुन् । नायब सुब्बामा १० वर्ष काम गरेको नायब सुब्बालाई एक तह र १० वर्ष भन्दा माथि काम गर्नेलाई दुई तह बढुवा गर्ने व्यवस्था संघीय निजामति ऐन राख्नुपर्ने उनीहरूको माग रहेको छ । नायब सुब्बाहरूले आफ्ना माग सम्बोधन नभएसम्म देशभरका २० हजार नायब सुब्बाहरूले देशभर सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

त्यस्तै, नायब सुब्बाको मागलाई समेटेर तत्काल संघीय निजामति ऐन जारी गर्न समेत माग गरेका छन् । नायब सुब्बा बचाउ अभियन्ता नायब सुब्बा उत्तम कटुवालले प्रस्तावित संघीय निजामति ऐनमा नायब सुब्बाहरूको माग सम्बोधन नगर्दा अन्यायमा परेको बताउनुभयो । उहाँले नायब सुब्बाको लागि ३० प्रतिशत ज्येष्ठता, १० प्रतिशत आन्तरिक र १० प्रतिशत अन्तर सेवाको व्यवस्था हुनुपर्ने माग गरेपनि सरकारले माग सुनुवाई नगरेको गुनासो गर्नुभयो ।

उहाँले राज्य सञ्चालनमा महत्वपूर्ण योगदान दिएको भन्दै प्रस्तावित संघीय निजामति ऐनमा माग सम्बोधन नभए देशभर वृहत आन्दोलन गर्ने बताउनुभयो । नायब सुब्बाहररूले प्रस्तावित संघीयन ऐनमा संघ, प्रदेश र स्थानीय तहमा एक रूपमा कार्य गर्न समयसीमा किटानका साथै सबै तहमा एउटै मितिबाट लागू हुनेगरी प्रत्येक ५ वर्षमा एक तह वृद्धि हुनेगरी तहगत व्यवस्था राख्नुपर्ने माग रहेको छ ।

उनीहरुले राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृतसरहको पदपूर्तिमा ५० प्रतिशत खुला, ४० प्रतिशत बढुवा र १० प्रतिशत आन्तरिक प्रतिष्पर्धाको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*