अर्थमन्त्रीमा शर्मा दोहोरिने भएपछि अर्थसचिव मरासिनी सम्पर्कबाहिर

बकैया दर्पण संवाददाता
१५ श्रावण २०७९, आईतवार १५:३९

मकवानपुर । बजेट निर्माण प्रकरणमा सफाइ पाउनु भएका जर्नादन शर्मा आइतबार अर्थमन्त्रीमा दोहोरिने भएपछि अर्थसचिव मधुकुमार मरासिनी सम्पर्कबाहिर रहनु भएको छ । शर्माको पुनर्नियुक्ति हुने दिन आइतबार मरासिनी सञ्चारसम्पर्कमा नरहनु भएको हो भने उहाँको सचिवालयले उहाँ औपचारिक कार्यक्रममा व्यस्त भएको जवाफ दिएको छ । उहाँले प्रयोग गर्दै आएको मोबाइल स्विच अफ छ ।
अर्थसचिवको सचिवालयले भने मरासिनी मन्त्रालयकै आयोजनामा पोखरामा आयोजित एक कार्यक्रममा व्यस्त रहेको दाबी गरेको छ । शनिबार पोखरा गएका उहाँ सोमबार काठमाडौँ फर्किने अर्थसचिव सचिवालयले जानकारी दियो ।

अर्थमन्त्रालयका प्रवक्ता ढुण्डीराज निरौलाले सचिव मरासिनी मन्त्रालयमा नभएको बताउनुभयो । प्रवक्ता निरौलाले अर्थसचिव मन्त्रालयमा नरहेको जानकारी दिनुहुदै उहाँ बिदामा हुनुहुन्छ कि कार्यक्रममा जानुभएको हो भन्नेबारे आफुलाई जानकारी नभएको बताउनुभयो ।

चालु आर्थिक बर्ष २०७९/८०को बजेट निर्माणको क्रममा बजेटसँग असम्बन्धित व्यक्ति सहभागी गराएको आरोप लागेपछि मरासिनी शर्मासँग बसेर काम गर्न नसक्ने भन्दै बिदामा बस्नुभएको थियो । असार २२ गते शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा दिएलगत्तै उहाँ काममा फर्किनुभएको थियो ।

शर्माबिरुद्ध बनेको संसदीय समितिले अध्ययन पश्चात शर्मालाई सफाई दिएपछि शर्मा आइतबार फेरि अर्थमन्त्रीमा नियुक्त हुँदै हुनुहुन्छ । उहाँले आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट अर्थमन्त्रीमा पुनस् सपथ ग्रहण गर्दै हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*