बढ्दो आयात व्यवस्थापन तथा न्यूनीकरण गर्न उच्चस्तरीय अध्ययन समिति गठन

बकैया दर्पण संवाददाता
१३ श्रावण २०७९, शुक्रबार १५:३८

मकवानपुर । बढ्दो आयात व्यवस्थापन तथा न्यूनीकरण गर्न सुझाव दिनेगरी सरकारले उच्चस्तरीय सुझाव तथा अध्ययन समिति गठन गर्ने भएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको अध्यक्षतामा गठन हुने समितिले आयात घटाउन सरकारले तत्काल लिनुपर्ने निर्णयबारे सुझाव पेश गर्नेछ । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिलाई विश्व व्यापार सङ्गठन तथा नेपालको आयात व्यवस्थापनसम्बन्धी कानुन र अभ्याससम्बन्धमा सुझाव पेस गर्ने क्षेत्राधिकार तोकिएको छ ।

यसबाहेक समितिले विद्यमान अर्थतन्त्रको विश्लेषण र सुधारसम्बन्धमा समेत सरकारलाई सुझाव दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

समितिमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालयका सचिव, वाणिज्य सचिवलगायतका सदस्य रहनेछन् । आयात अत्यधिक बढेको र त्यसले गर्दा विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले पछिल्लो समय आयात निरुत्साहनको नीति अख्तियार गर्दै आएको छ ।

यसैक्रममा वैशाख १४ गते विभिन्न १० वस्तुको आयातमा सरकारले प्रतिबन्ध लगाएको थियो । असार मसान्तसम्मका लागि लागू गरिएको प्रतिबन्धमा संशोधन गर्दै भदौ १४ गतेसम्मका लागि निरन्तरता दिइएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले कुल २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । त्यसमध्ये १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँको आयात भएको छ । सो वर्ष नेपालको निर्यात पहिलो पटक दुई खर्ब रुपैयाँ नाघेको छ ।

निर्यातमा सुधार आए पनि आयात अत्यधिक हुँदा व्यापार घाटा १७ खर्ब २० अर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्षमा अत्यधिक आयात बढ्नुमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा धेरै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*