संसदीय छानबिन विशेष समितिले सभामुखलाई आज प्रतिवेदन बुझाउने, एमालेको असहमति

बकैया दर्पण संवाददाता
१३ श्रावण २०७९, शुक्रबार १०:५८

मकवानपुर । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले आज शुक्रबार आफ्नो प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने भएको छ । विभिन्न पक्षसँग छलफलको औपचारिकता पूरा गरी समितिले प्रतिवेदन तयार गरेको हो ।

बिहीबार दिनभर बसेको समितिको बैठकमा सदस्यहरुबीच सर्वसम्मत मत बनाउने कोशिस भए पनि सम्भव नभएको बुझिएको छ । सहमति हुन नसकेपछि समितिमा रहेका एमाले सांसदहरुले छुट्टै मत पेश गर्ने भएका छन् । एमाले सांसदहरुले छानबिन नै अपूर्ण रहेको बताएका छन् । सत्ताधारी सांसदहरुको बहुमतको आधारमा समितिले बजेट निर्माणमा अनधिकृत ब्यक्तिको संलग्नता पुष्टि हुन नसकेको रायसहितको प्रतिवेदन बुझाउने बुझिएको छ ।

समितिमा सांसदहरु खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम), प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव रहेका छन् । गत असार २२ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सो सम्बन्धमा छानबिन गर्न ११ सदस्यीय विशेष समिति गठनको घोषणा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*