राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक हुदै

बकैया दर्पण संवाददाता
६ श्रावण २०७९, शुक्रबार १०:३५

मकवानपुर । नेपाल राष्ट्र बैंकले आज शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दैछ ।
गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति शुक्रबार ल्याउन लाग्नुभएको हो । गत आर्थिक वर्षको असार मसान्तमै मौद्रिक नीति ल्याउने तयारी गरिसक्नुभएका गभर्नरले एक साता ढिलाइ गरेर शुक्रबार नीति सार्वजनिक गर्दै हुनुहुन्छ ।
यसपटकको मौद्रिक नीति अघिल्ला वर्षहरुमा भन्दा केही कसिलो हुने अनुमान गरिएको छ । कोरोना महामारीले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन अघिल्ला वर्षहरुमा केही खुकुलो नीति राष्ट्र बैंकले लिएको थियो । यसपटक भने बढ्दो व्यापार घाटा, विदेशी मुद्रा सञ्चितीको गिर्दो अवस्था लगायतका समस्यालाई हल गर्न सघाउने मौद्रिक नीति आउने अनुमान गरिएको छ ।

मौद्रिक नीतिलाई अन्तिम रूप दिन शुक्रबार बिहान आठ बजे सञ्चालक समितिको बैठक बोलाइएको छ । समितिले पारित गरेपछि आजै मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक छ । बिहीबार गभर्नर अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिका विषयमा ब्रिफिङ गर्नुभएपछि शुक्रबार नीति सार्वजनिक गर्ने बाटो खुलेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*