उद्देश्यबिना तालमेल गर्न नहुनेमा कांग्रेस महान्त्री थापाको जोड

बकैया दर्पण संवाददाता
५ श्रावण २०७९, बिहीबार १४:३२

मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदै गरेको सङ्घीय र प्रादेशिक चुनावमा निश्चित उद्देश्यसहित दलहरूको बीचमा तालमेल हुनुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन चितवनले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले तालमेल के का लागि हो पहिले नै टुङ्गो लाग्नुपर्छ भन्नुभयो । महामन्त्री थापाले चुनावपछि र अगाडिको तालमेल असफल भएको बताउनुभयो । तत्कालका लागि नाफा मात्रै देखिन्छ भने त्यो आवश्यक नभएको उहाँले स्पष्ट पार्नुभयो ।
महामन्त्री थापाले आउँदो चुनावका लागि गरिने तालमेलमा न्यूनतम समझदारी बन्नुपर्छ भन्नुभयो । निर्वाचनअघि गरिने तालमेल दलहरूका बीचमा संविधानलाई हेर्ने दृष्टिकोण, आर्थिक सामाजिक मुद्दा र विदेश नीतिका सन्दर्भमा न्यूनतम समझदारी बन्नुपर्ने उहाँले बताउनुभयो । न्यूनतम समझदारी नबनी तालमेल गर्दा चुनाव जितिसकेपछि साना कुरा, तानातानले तालमेल टुट्न सक्ने उहाँको भनाइ छ ।

नेपाली कांग्रेस त्यसतर्फ सचेत रहँदै बहुमत ल्याउनका लागि तालमेल आवश्यक रहेको उहाँले बताउनुभयो । बहुमत स्थिर सरकारका लागि आवश्यक रहेको उहाँको भनाइ थियो । नागरिकसँग गरेका वाचा पाँच वर्षमा पूरा गर्नका लागि कांग्रेसलाई बहुमत आवश्यक रहेको उहाँले जिकिर गर्नुभयो । फरक प्रसङ्गमा महामन्त्री थापाले पार्टी सभापतिलाई बलियो बनाउँदै विधिसम्मत पार्टी चलाउन आफूहरूको दबाब रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*