निवर्तमान अर्थमन्त्री शर्मा बयान दिन सिंहदरबारमा

बकैया दर्पण संवाददाता
५ श्रावण २०७९, बिहीबार ११:१०

मकवानपुर । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले उहाँसँग बयान लिन सुरु गरेको छ । हिजै लिने भनिएको बयान शर्माले नभ्याउने भनेपछि आज बिहानका लागि सारिएको थियो । बयानका लागि पूर्वमन्त्री शर्मा संसद सचिवालय सिंहदरबार पुग्नु भएको हो ।

चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति मन्त्रालयमा बोलाइएका अनधिकृत व्यक्तिमाथि छानबिन गर्नुपर्ने चौतर्फी दबाबकाबीच सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो ।

समितिको कार्यादेश आज सकिँदै छ। दशौँ दिन अर्थात् अन्तिम दिन मात्रै समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिन लागेको हो । समितिलाई काम सुरु गरेको दश दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश छ ।

समितिले तोकिएको समय अवधिमा काम नसक्ने भएपछि समय थप गर्ने तयारी छ । हिजो समितिले पूर्व अर्थ सचिवहरूसँग छलफल गर्ने भने पनि एक जना शिशिरकुमार ढुङ्गाना मात्र सहभागी हुनु भएको थियो । त्यस्तै बजेटको बारेमा लेख्ने अन्नपुर्ण पोस्टका दुई पत्रकारसँग पनि समितिले हिजै छलफल गरेको थियो ।

समितिले जेठ १४ र १५ गतेको मन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिक्स रिकभरका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको जनाएको छ । नेपाल प्रहरीको साइबर ब्यूरो र नेपाल इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञले सफ्टवेयरको माध्यमबाट डिलिट भएको फुटेज पनि रिकभर हुनसक्ने राय दिएको छ । तत्कालीन अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९र०८० को बजेट बनाउने क्रममा जेठ १४ गते अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।

यही मुद्दालाई उठाएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नियमित संसद बैठक अवरुद्ध गरेपछि तत्कालीन अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*