भारत भ्रमणमा रहेका माओवादी अध्यक्ष प्रचण्ड राजनीतिक भेटघाटमा व्यस्त

बकैया दर्पण संवाददाता
३२ असार २०७९, शनिबार १३:१६

मकवानपुर । तीनदिने भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएको छ ।

आइतबार बिहान उहाँले मोदीसँग ब्रेकफाष्ट वार्ता गर्ने तालिका सार्वजनिक भएको छ । शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नुभएका उहाँलाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गर्नुभएको थियो । भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनेदेखि व्यापारललगायतका विषयमा कुराकानी हुने दिल्ली प्रस्थान गर्नुअघि उहाँले बताउनुभएकाे थियो ।

उहाँले शुक्रबारै चौथाईवालेसँग होटल ताज मानसिंहमा शिष्टाचार भेट गर्नुभयो । अध्यक्ष प्रचण्डले शनिबार भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गर्ने उहाँको सचिवालयले जनाएको छ । त्यसपछि भारतीय विदेश मन्त्री एस जयशंकरसँग उहाँले कुराकानी गर्नुहुने जनाइएकाे छ । भर्खरै काठमाडौँबाट फर्किएका विदेश सचिव विनय मोहन क्वात्रासँग पनि उहाँले शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

शनिबारै उहाँको सम्मानमा भारतीय विदेश मन्त्री जयशंकरले रात्रिभोज दिने बताइएको छ । प्रधानमन्त्री मोदीसँग भेट गरेपछि उहाँले आइतबार नै भाजपा मुख्यालको भ्रमण गर्नुहुने भएकाे छ । त्यहाँ उहाँले भाजपा अध्यक्ष जेपी नड्डासँग समेत भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उहाँ आइतबार नै नेपाल फर्कने कार्यक्रम तय भएकाे जनाइएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*