त्रिविको साख गिर्न नदिन प्रधानमन्त्री देउवाको जोड

बकैया दर्पण संवाददाता
२४ असार २०७९, शुक्रबार १४:४५

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयको साख जाेगाउन सबैले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभएको छ ।

त्रिभवन विश्वविद्यालयको ६३ औं वार्षिक दिवसको अवसरमा आज शुक्रबार प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति देउवाले विश्वविद्यालयका समस्त प्राज्ञिक वर्ग, पदाधिकारी, कर्मचारी तथा विद्यार्थीहरूलाई उहाँहरूले विश्वविद्यालयको विकास, विस्तार र स्तरोउन्नतिमा निर्वाह गरेको भूमिकाका लागि आभार व्यक्त गर्नुभयो ।

विश्वविद्यालयका अध्ययन संस्थान र सङ्कायहरुबाट विभिन्न विषयमा आवश्यक मापदण्ड पूरा गरी तोकिएको परीक्षासमेत उत्तीर्ण भई ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थीहरूको ग्रेस लिस्ट पारित गर्न बसेको आजको सभामा प्रधानमन्त्रीले विभिन्न विषय र तहको उच्च उपाधि प्राप्त गर्न सफल सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना समेत गर्नुभयो ।

प्रधानमन्त्री देउवाले आगामी वर्षको बजेट तथा कार्यक्रमले विश्वविद्यालयको प्राज्ञिक स्तरलाई उकास्न तथा विभिन्न भौतिक सुधारहरूमार्फत विश्वविद्यालयलाई आधुनिक सुविधा सम्पन्न शैक्षिक संस्थाको रूपमा विकास गर्दै लैजाने विश्वास व्यक्त गर्नुभयो ।

विश्वविद्यालयबाट सञ्चालित उच्चशिक्षालाई विश्व परिवेश अनुकूल बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी यसका प्राज्ञिक कार्यक्रमलाई थप सुधार र परिमार्जन गर्दै अघि बढ्नु आवश्यक रहेको उहाँकाे भनाइ छ । विश्वविद्यालयको प्राज्ञिक कार्यक्रमलाई स्तरोउन्नति गर्दै उच्चशिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीहरूलाई उनीहरूको रुचि र बजारको माग अनुसारको शिक्षा स्वदेशमै प्राप्त गर्न सक्ने वातावरण बनाउन उहाँले जोड दिनुभयो । यसबाट प्रतिभा पलायन रोक्न र उच्चशिक्षाको नाममा खर्च हुने राष्ट्रको ठूलाे धनराशि समेत जोगाउन मद्दत पुग्ने हुँदा यसतर्फ ध्यान दिन प्रधानमन्त्रीले विश्वविद्यालयका पदाधिकारीसँग विशेष आग्रह गर्नुभयो ।

यसैगरी, विश्वविद्यालयले निश्चित शैक्षिक क्यालेण्डर बनाई सोही अनुसार समयमा नै पठन पाठन सम्पन्न गर्दै नतिजा प्रकाशित गरी समयको सदुपयोग गर्न पनि जोड दिँदै प्रधानमन्त्री देउवाले विश्वविद्यालयबाट आर्जन गरिने शिक्षालाई जीवनोपयोगी, व्यावहारिक र रोजगारमूलक बनाउन ध्यान दिन सबैमा आग्रह समेत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*