सरकारले आज संसदबाट नागरिकता विधेयक फिर्ता लिने

बकैया दर्पण संवाददाता
२३ असार २०७९, बिहीबार ११:०९

मकवानपुर । दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । चार वर्षअघि संसदमा दर्ता भएको विधेयक संसदीय समितिले बहुमतले पारित गरेर प्रतिवेदन बुझाइसकेको थियो । तर दलहरुबीच केही प्रावधानमा सहमति नभएपछि मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । केही प्रावधान सच्याएर अर्को विधेयक ल्याउने सरकारको तयारी छ ।
यस्तै आजको बैठकमा सभामुख अग्नि सापकोटाले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन र विधेयकका दफाहरूलाई निर्णयार्थ पेश गर्ने कार्यसूची छ। त्यसपछि गृहमन्त्री खाणले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको खानेपानी तथा सरसफाइ विधेयक २०७५ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

कानुन मन्त्री गोबिन्द कोइरालाले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि छलफल र पारितका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् । बैठकमा प्रधानमन्त्रीका तर्फबाट मुस्लिम आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै राष्ट्रिय सभाको बैठक विहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन् ।

त्यस्तै राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विधेयक २०७६ लाई सभामा टेबुल गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*