गठबन्धनमा कुर्सीको समस्या सामान्य भएको देउवाको भनाई

बकैया दर्पण संवाददाता
२१ असार २०७९, मंगलवार १२:५२

मकवानपुर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्य रूपमा लिनुपर्ने बताउनुभएको छ । मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व. नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्य रूपमा लिनुपर्ने बताउनुभएको हो ।
उहाँले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा आएका कुर्सीका समस्यालाई सामान्य रूपमा लिन आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले मोरङको विराटनगरमा रहेको भवनलाई स्व. नेता गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउने कुरा स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले संग्रहालय बनाउने कुरामा सरकारले सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनुभयो ।

‘मोरङ, विराटनगरमा एउटा उहाँको भवन छ । त्यसलाई उहाँकै नाममा बनाउने कुरा छ। यो राम्रो हो, खुशीको कुरा हो । नेपालमा उहाँले आन्दोलन गरेको ठाउँमा भवन छ भने बनाउनु के आपत्तिको कुरा भयो र ? हामी यसमा सहयोग र पहल गर्ने नै छौँ’‚ उहाँले भने, ‘धनराजजीहरूले पनि भन्नुभयो, गठबन्धनमा समस्या आयो । एउटै पार्टीमा त समस्या हुन्छ भने कुर्सीमा त समस्या हुन्छ नै यसलाई समान्य रूपमा लिनुपर्छ । तपाईंहरू प्रधानमन्त्री भएपछि थाहा पाउनुहुन्छ ।’

देउवाले सधैँ जनताका लागि लडिरहने नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण गर्न पाउँदा खुशी लागेको बताए। उहाँले स्व= नेता कोइरालाले दलहरूबीच सहकार्य र सहमति गरेर अघि बढ्नुपर्ने कुरा बारम्बार भनिरहने उल्लेख गर्दै आज पनि सहमति र सहकार्यको कुरा सान्दर्भिक रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*