कोटेश्वरमा माधव नेपाल र मन्त्रीहरुबीच चर्काचर्की

बकैया दर्पण संवाददाता
९ असार २०७९, बिहीबार १२:११

मकवानपुर । मन्त्रीमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर शुक्रबार साँझ कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मुख्यतः पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाक्रीले असहमति प्रकट गरेका हुन् ।

झाँक्रीले कोटेश्वरस्थित निवासमा बाहिर नै सुनिने गरी अध्यक्ष नेपालको प्रस्तावलाई अस्वीकार गर्दै चर्को स्वरमा बोल्न थालेपछि स्थिति असामान्य बनेको थियो । कोटेश्वरस्थित निवासमा अध्यक्ष नेपाल र मन्त्री झाक्रीले चर्को स्वरमा असहमति प्रकट गरेपछि स्वास्थ्य मन्त्री विरोध खतिवडाले ढोका नै लगाएर आवाज बाहिर आउन नदिएका एक प्रत्यक्षदर्शीले बताए । उता, दुई जना सांसदसहित गएका पर्यटनमन्त्री आलेले स्थायी कमिटीको निर्णय सच्चाएर धनबहादुर बुढालाई मन्त्री बनाउनु पर्ने शर्त राखेका थिए ।

स्थायी कमिटी बैठकले गरेको निर्णय कच्चा भएको र निर्वाचनसम्म बहालवाला मन्त्रीहरुलाई नै निरन्तरता दिनुपर्ने माग राखेपछि अध्यक्ष नेपालले ‘पार्टीले निर्णय गरिसकेको’ भन्दै मन्त्रीहरुको प्रस्ताव अस्वीकार गरेका थिए । स्वास्थ्यमन्त्री खतिवडा र श्रममन्त्री कृष्णकुमार श्रेष्ठ भने बैठकमा नरम भएर प्रस्तुत भएका थिए । कोटेश्वरमा उपस्थित मन्त्रीहरुले मुख्यतः दुईवटा शर्त राखेपछि अध्यक्ष नेपालले सो बिषयमा बैठकमा छलफल गर्ने जनाएका छन्।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार दुईवटा शर्तमा अध्यक्ष नेपालले पुनर्विचार गर्ने जनाएपछि बिहीबार साँझ कोटेश्वरको माहौल नरम हुन पुगेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*