एसपिपीबारे गठबन्धनका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल

बकैया दर्पण संवाददाता
५ असार २०७९, आईतवार १२:३२

मकवानपुर । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।
बैठकमा अमरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी), गठबन्धनको भविष्य र अन्य समसाहिक विषयमा छलफल भएको छ । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेता सहभागी रहेको बताइएको छ ।

नेपाली सेनाले एसपिपीमा सहभागी हुन पठाएको पत्र सार्वजनिक भएपछि तरङ्ग पैदा भइरहेको छ । प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणको क्रममा सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको भए पनि गठबन्धन नेताहरूको दबाबका कारणले पछि हट्नुभएको छ । प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमण र एसपिपीबारे जानकारी लिन प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले बोलाएको थियो । तर देउवा जानुभएन । यसअघि शुक्रबार परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई समितिले बोलाएर छलफल गरेको थियो ।

त्यसो त शनिबार भएको प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच छलफलमा एसपिपी अस्वीकार गर्दै सरकारले पत्र पठाउनुपर्ने सहमति बनेको थियो । आजको बैठकले नेताहरूले प्रधानमन्त्रीलाई अमेरिकालाई अस्वीकार गरेको पत्र लेख्न दबाब दिएको स्रोतले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*