माधव नेपालको निर्णयले अप्ठेरोमा प्रचण्ड, नेताहरू विभाजित

बकैया दर्पण संवाददाता
२५ जेष्ठ २०७९, बुधबार १६:१३

मकवानपुर । नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको बताएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरूलाई फेर्नुपर्ने आवाज उठिरहेको बताएका हुन्।

नेकपा(एकीकृत समाजवादी)ले मन्त्रीहरु फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरु फेर्न दबाब परेको बताए। मन्त्री फेर्नेबारे पार्टीभित्र कुनै छलफल भने नभएको स्पष्ट पारे।

उनले भने, ‘हाम्रोमा अहिलेसम्म कुनै छलफल भएको छैन। समाजवादीका साथीहरुले पूरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ। कांग्रेसमा पनि दबाब छ। जसपामा दबाब छ। यो दबाबलाई नेताहरुले कति थेग्नुहुन्छ थाहा छैन। हाम्रो अझै छलफल सुरु भएको छैन। अहिले फेर्नुपर्छ कि भन्ने खालका आवाज उठिरहेको छ।’

त्यस्तै, माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले संसदमा मन्त्रालयगत छलफल प्रारम्भ भएको बेलामा मन्त्री फेर्न नमिल्ने बताए। उनले अहिले मन्त्री परिषद् हेरफेर गर्नु संयुक्त सरकारको सोचसँग मेल नखाने पनि उल्लेख गरे।

‘सरकारमा फेरबदल नै गर्नुपर्ने भएपनि, पहिलो त संयुक्त सरकार हो यो। संयन्त्र छ। आचारसंहिताहरू छन्। मन्त्रालयको छलफल प्रारम्भ गर्ने अनि मन्त्रीहरु बदल्छु भनेर कहीँ मिल्छ त्यो ? त्यो संयुक्त सरकारको सोचसँग मेल खाएन’ उनले भने, ‘अहिले पछिल्लो बेलामा शिर्ष नेताहरु बसिसकेर अहिले बाहिर सार्वजनिक पनि भइसकेको छ, त्यो नमिल्ने कुरा उहाँहरुले सच्याउनुभएको छ।’

उनले गठबन्धनका शिर्ष नेताहरु बसेर मन्त्री हेरफेर गर्ने निर्णय सच्याइसकेको बताए। त्यसो त मन्त्री फेर्ने बिषयमा पार्टीका नेताहरुको मत बाझिँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दबावमा परेका छन्। नेताहरुकै आकांक्षाले पार्टीको महाधिवेशन गरेपनि हालसम्म पदाधिकारी समेत चयन गर्न सकेका छैनन्।

यता, एकीकृत समाजवादीले आफ्नो पार्टीको तर्फबाट गएका मन्त्री फेर्न सिफारिस गरेपछि प्रचण्डलाई दबाव छ। समाजवादीले सिफारिस गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले बजेटमाथिको छलफल भइरहेका बेला मन्त्री हेरफेर गर्न नहुने भन्दै रोकेका थिए।

समाजवादीको सिफारिस कार्यान्वयनतर्फ

पार्टीबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय समाजवादीले गरेको थियो। स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गर्ने निर्णय समाजवादीको थियो।

समाजवादीले मेटमणि चौधरीलाई सहरी विकासमन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शेरबहादुर कुँवरलाई श्रम तथा सामाजिक सुरक्षा र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन नाम सिफारिस गरेका थियो।

एकीकृत समाजवादीको तर्फबाट शहरी विकास मन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा मन्त्री पदको सपथ ग्रहण गरिसक्ने दाबी गर्छन्।

बुधबार प्रतिनिधिसभाको बैठकका लागि नयाँबानेश्वरस्थित संसद भवनमा पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरूसँग बोल्दै उनले भने, ‘आज नै सपथ ग्रहण हुनसक्ने सम्भावना पनि छ, जनता समाजवादी पार्टीको आन्तरिक समस्या सम्बोधन गर्नका लागि केही दिन समय मागेकाले मात्रै सपथग्रहण रोकिएको हो।’

सांसद चौधरीले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने बताए।

‘पार्टीले निर्णय गर्‍यो, निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ। तर आज हामी पाँच दलीय गठबन्धन भित्रकै एउटा दल हो। हामीले सपथ ग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दा जसपाका साथीहरुले केही दिन हामीलाई पनि पार्टी भित्रको आन्तरिक समस्या सम्बोधनको लागि केही समय चाहिन्छ भनेपछि केही समय केहीदिन ढिला मात्रै भएको हो‘ उनले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*