छलफलपछि मात्रै घनश्याम भुसाललाई कारबाहीबारे निर्णय : ईश्वर पोखरेल

बकैया दर्पण संवाददाता
२४ जेष्ठ २०७९, मंगलवार १४:५२

मकवानपुर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भुसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेको सम्बन्धमा पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने बताएका छन्।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले घनश्याम भुसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक एजेण्डा भएको बताए। उनले उक्त विषय पार्टीको सम्बन्धित कमिटीमा आउने र छलफलपछि निर्णय लिइने बताएका हुन्।

उनले भने, ‘कुनै पनि चिज कमिटीमा छलफल हुन्छ। कमिटीले निर्णय गर्छ। मलाई अचम्म लागेको छ। यो कमिटीको आन्तरिक मुद्दा हो, बाहिर सार्वजनिक रूपमा हल्ला गर्ने विषय होइन नि यो।’

त्यस्तै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा(एमाले)का केन्द्रीय सदस्य तथा सांसद झपट रावलले पार्टीभित्रका कमी कमजोरीलाई समीक्षा गरेर एकताबद्ध हुनुपर्ने बताए। पार्टीको आन्तरिक अवस्था सुदृढ नभएमा पार्टी बलियो हुन नसक्ने उनको भनाइ छ।

कोही पनि आवेग र उत्तेजनामा नआई पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनले बताए। उनले भने, ‘नेकपा(एमाले)का भएका कमी, कमजोरीलाई आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्छ।’

उनले एमालेमाथि चौतर्फी आक्रमण भइरहेको उल्लेख गर्दै सो कुरा पार्टी पंक्तिले नबुझेमा प्रतिक्रियावादी शक्तिलाई सहयोग गरेको ठहरिने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*