नागरिकता ऐन संसोधनमा सहमति जुटाउन प्रधानमन्त्री र सभामुखको सक्रियता

बकैया दर्पण संवाददाता
२३ जेष्ठ २०७९, सोमबार १२:०६

मकवानपुर । नागरिकता ऐन संसोधनमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सक्रियता देखाउनुभएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको हाे । प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा आइतबार बालुवाटार जानुभएको थियो । भेटमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

त्यस्तै सचिवालयका अनुसार प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच नागरिकतालगायत विचाराधीन विधेयकहरु र उपसभामुख चयनका विषयमा पनि छलफल भएको छ । यसैबीच, गृहमन्त्री बालकृष्ण खाणको पहलमा संघीय संसदमा विचाराधीन नेपाल नागरिकता ऐन २०६३ संशोधनकाे विषयमा सरोकारवाला निकायबीच छलफल भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले दलहरूबीच सहमति जुटाएर प्रतिनिधिसभाको जारी अधिवेशनमा नागरिकता ऐन प्रस्तुत गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । बैठकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभामा पेस गरेको प्रतिवेदनमा सहमति जुटाएर संसदमा पेश गर्न विभिन्न राजनीतिक पार्टीसँग छलफल गर्ने निर्णय भएको छ ।

नागरिकता ऐनमा वैवाहिक अंगीकृत, अंगीकृत, जन्मसिद्ध नागरिकका सन्तानलाई दिने नागरिकता, गैरआवासीय नागरिकलाई दिने नागरिकता, आमाको नामबाट नागरिकतालगायतमा सहमति जुट्न सकिरहेको छैन ।

सरकारले प्रतिनिधिसभाको यही अधिवेशनमा नागरिकता ऐन पेश गर्ने तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*