कांग्रेसलाई पनि एमालेजस्तै ठेगान लगाइदिने प्रचण्डको चेतावनी

बकैया दर्पण संवाददाता
१८ जेष्ठ २०७९, बुधबार १६:४१

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई पनि एमालेको जस्तै ठेगान लगाउनु नपरोस् भन्नुभएको छ । बुधबार पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि राखेको प्रशिक्षणका क्रममा अध्यक्ष दाहालले यस्तो चेतावनी दिनुभएको हो ।

उहाँले एमालेले अहंकार बढाउँदा आफूहरुले ठेगान लगाइदिएको र फेरि कांग्रेसलाई पनि त्यसैगरी ठेगान लगाइदिने चेतावनी दिनुभयो । अध्यक्ष दाहालले आफूहरुले गठबन्धन कायम राखेरै जान चाहेको तर कांग्रेसमा पनि स्थानीय तहको चुनावी नतिजाका आधारमा एमालेमा जस्तै अहंकारको संकेत देखिएको बताउनुभयो ।

अध्यक्ष दाहालले काठमाडौं र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर जनताले माओवादी केन्द्रलाई सबक सिकाएको बताउनुभयो । निर्वाचन जित्ने स्वतन्त्र उम्मेदवारहरुले माओवादीको जस्तो कुरा गरेका कारण जनताले मत दिएका उहाँले जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले देशमा अझै कयौँ दशकसम्म पार्टीहरुले नै राज्य गर्ने उल्लेख गर्दै पार्टी प्रणालीलाई कमजोर बनाएर स्वतन्त्रको राज्य नचल्ने बताउनुभयो ।

उहाँले गठबन्धन कायम रहने स्पष्ट पार्दै माओवादी केन्द्रलाई हल्का रुपमा नलिन पनि चेतावनी दिनुभयो । अध्यक्ष दाहालले माओवादी केन्द्रले जितेका स्थानीय तहहरुमा पार्टीको आधार इलाका हुनेगरी काम गर्न निर्देशन समेत दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*